News Desk
काठमाडौँ । सार्क क्षेत्रका विज्ञ तथा शिक्षाविद्हरूले कृत्रिम बौद्धिकता (AI) को प्रयोग मानव सेवामुखी, जिम्मेवार र विवेकशील हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले प्रविधिको सम्भावित दुरुपयोग रोक्न राज्यले समयमै स्पष्ट नीति तथा कानुनी व्यवस्था ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
त्रिभुवन विश्वविद्यालयको आयोजनामा तथा एसियाली विकास बैंक (ADB) र संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (UNESCO) को सहयोगमा बुधबारदेखि काठमाडौँमा सुरु भएको ‘उच्च शिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’ विषयक अन्तरराष्ट्रिय कार्यक्रममा सहभागी विज्ञहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा नेपालसहित चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स र भूटानका विभिन्न प्रतिष्ठित विश्वविद्यालयका उपकुलपति, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशीलबहादुर बज्राचार्यले कृत्रिम बौद्धिकताको सचेत र प्रभावकारी प्रयोगमार्फत उच्च शिक्षालाई गुणस्तरीय, आधुनिक तथा विश्वस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले प्राध्यापक तथा विद्यार्थीलाई AI सम्बन्धी दक्षता अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धान, नवप्रवर्तन र संस्थागत विकासमा यसको उपयोग बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै, AI को सहज र सुरक्षित प्रयोगका लागि सरकारले समयानुकूल नीति तथा कानुन निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालका लागि चीनका राजदूत छाङ म्याओमिङले कृत्रिम बौद्धिकताले विश्वको सोच, अध्ययन र कार्यप्रणालीमा व्यापक परिवर्तन ल्याइरहेको बताउनुभयो । उहाँले AI को दिगो तथा मानवहितकारी प्रयोग सुनिश्चित गर्न चीन सरकारले अनुसन्धान तथा प्रविधि विकासमा लगानी बढाउँदै आएको जानकारी दिनुभयो ।
राजदूत म्याओमिङले उच्च शिक्षामा AI ले अवधारणात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै प्रविधिको सकारात्मक प्रयोग र सम्भावित चुनौती व्यवस्थापनका लागि अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
यसैबीच कार्यक्रममा ‘अनलाइन शिक्षा’ सम्बन्धी अन्तरराष्ट्रिय संस्थाको नेपालमा औपचारिक प्रारम्भ गरिएको छ । उक्त संस्थाको स्थापना सम्बन्धी समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा.डा. शङ्करप्रसाद खनाल तथा युनेस्कोका उपनिर्देशक बी सियाओहानले हस्ताक्षर गर्नुभएको थियो ।