सिद्धार्थ राजमार्ग शुक्रबार बेलुकीदेखि एकतर्फी 
News Desk
Jul-10 , 2021 तारिख 07:04 बिहान



बुटवल- सिद्धार्थ राजमार्ग शुक्रबार बेलुकीदेखि एकतर्फी खुलेको छ । राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–५, हिउँदेखोला, गिट्टीखानी क्षेत्रमा खसेको पहिरो पन्छाउन नसक्दा दिनभर अवरुद्ध भएको हो । शुक्रबार बिहानदेखि पहिरो पन्छाउन सवारी साधन सञ्‍चालनमा रोक लगाइएको थियो । 


बिहीबार बिहानै ३ बजे खसेको पहिरोको माथिबाटै साना सवारी साधन संचालन गर्न सकिने बनाए पनि पुनस् दलदल भएपछि शुक्रबार बिहानैबाट पहिरो पन्छाउन सुरु भएको दोभान प्रहरी चौकीले जनाएको छ । तर पहिरो ठूलो भएकाले दुई वटा एक्स्काभेटरलाई दिनभर लागेको थियो । ट्राफिक प्रहरी धर्मराज न्यौपानेका अनुसार बेलुकीबाट एकतर्फी सवारी साधन चलाउन सकिने बनाएको छ । उनका अनुसार झुम्सामा पनि एकतर्फी सवारी साधन संचालन गर्न सकिने बनाइएको छ ।

दुईतर्फी यातायात सञ्चालन गर्न अझ केही दिन लाग्ने स्थानीय सुन्दर गाहाले बताए । उनका अनुसार पहिरोको माटो अत्यधिक रहेको र ठूला ढुंगा रहेकाले हटाउन अझै केही दिन लाग्नेछ ।

राजमार्ग सुचारु भएपछि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध भएपछि खाद्यान्न बोकेकाका साथै निजी सयौं सवारी साधन सडकमै रोकिएका थिए ।