News Desk
लमजुङ — २४ श्रावण २०७८
लमजुङ , मर्स्याङ्दी गाउँपालिकाले सडक तथा अन्य योजना निर्माण गर्दा डोजर, एक्स्काभेटरलगायत मेसिनरी सामग्री प्रयोगमा रोक लगाएको छ ।बर्खायाममा बाढीपहिरो निम्त्याउने भन्दै ४ महिना डोजर, एक्स्काभेटरलगायत मेसिनको प्रयोग गर्न रोक लगाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार जेठ, असार, साउन र भदौ महिनामा निर्माण गरिने योजनामा मेसिनरी सामग्री प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ ।
‘यो ४ महिना अत्यधिक वर्षा हुन्छ । बाढीपहिरो हुन्छ । बर्खायाममा डोजर प्रयोगले विकास नभई विनाश निम्तिएको छ,’ उनले भने, ‘बर्खायाममा मात्रै डोजर, एक्स्काभेटर रोक्न सकियो भने क्षति कम हुन्छ भन्ने हाम्रो ठम्याइ हो ।’ उनका अनुसार बर्खायाममा मेसिनरी सामग्री चलाएर निर्माण गरिएको सडक तथा अन्य योजना बाढीपहिरोले बगाउने गरेको बताए । मर्स्याङ्दीमा ३ वर्षअघि बाढीपहिरोका कारण धनजनको क्षति भएको थियो । गत वर्षको पहिरोबाट वडा–३ को पल्लोटारी र अर्खले गाउँ विस्थापित अवस्थामा छ । उनका अनुसार प्राकृतिक विपद्बाट जोगाउन गाउँपालिका बैठकले नै निर्णय गरेको छ । हिउँदमा डोजर, एक्स्काभेटर प्रयोग गर्दा सबैखाले प्राविधिक परीक्षण गर्नुपर्ने उनले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षदेखि सडक निर्माण योजनामा कम्तीमा ५ प्रतिशत ‘बायोइन्जिनियरिङ’ का लागि बजेट व्यवस्थापन गरी लागत इस्टिमेट तयार गरिने भएको छ । ‘सडक निर्माणमा उक्त ठाउँको प्राविधिक र भौगोलिक अध्ययन अनिवार्य गरिएको छ,’ उनले भने । गाउँपालिकाले भदौ मसान्तसम्म सबै योजनाको टेन्डर निष्कासन सकेर भदौ १५ भित्र काम अघि बढाउने निर्णय गरेको अध्यक्ष गुरुङले बताए । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले योजनाका लागि भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्ने समयसीमा तोकेको छ ।
असोज १५ गतेभित्र उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिएर पुस १५ गतेभित्र प्राविधिक इस्टिमेट तयार पार्ने र माघ १५ गतेसम्म सबै योजना सम्झौता सक्ने निर्णय गरिएको बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटनलगायतलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको उपाध्यक्ष विकले बताए । मर्स्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४८ करोड २७ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
(कान्तिपुर दैनिक)