२३ स्वास्थ्य इकाइ बन्द
News Desk
Aug-08 , 2021 तारिख 04:13 बेलुका

हुम्ला — दुई वर्षयता स्थापना भएका जिल्लाका २३ स्वास्थ्य इकाइ बन्द भएका छन् । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेटको व्यवस्था नगर्दा अधिकांश स्वास्थ्य इकाइ साउन १ गतेबाट बन्द भएका हुन् ।गाउँ नजिकैका स्वास्थ्य इकाइ बन्द भएपछि स्थानीयलाई उपचारमा समस्या भएको छ । ‘स्वास्थ्य केन्द्र बन्द हुँदा सिटामोल पाउन पनि मुस्किल भयो,’ खार्पुनाथ गाउँपालिका–५ ताक्लागाउँकी सुपुरी नेपालीले भनिन्, ‘गाउँमा मेडिकल पनि नहुँदा घरेलु औषधिको भर पर्नुपरेको छ ।’स्वास्थ्य इकाइ स्थापना भएपनि घर–आँगनमै उपचार गर्न पाए पनि एक्कासि बन्द हुँदा ३ घण्टा हिँडेर गाउँपालिकाको केन्द्रमा पुग्नुपर्ने बाध्यता भएको उनको गुनासो छ ।

बजेटको व्यवस्था नहुँदा साउन १ गतेदेखि ६ वटा स्वास्थ्य इकाइ बन्द भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए । ‘प्रदेश सरकारले असारसम्म बजेटको व्यवस्था गरेको थियो,’ उनले भने, ‘यो वर्षको बजेटमा इकाइका लागि रकम विनियोजन नगरेपछि बन्द गर्नुपर्ने बाध्यता भएको हो ।’चिसोका कारण गाउँमा बिरामी बढ्दै गएको गाउँपालिका अध्यक्ष रावलले बताए । उनका अनुसार चिसो बढेपछि रुघाखोकी, ज्वरो, निमोनिया, टाइफाइट, दम, टाउको दुख्नेलगायतका बिरामी बढिरहेका हुन् । ‘बिरामी बढेकै बेला इकाइ बन्द भए,’ उनले भने, ‘प्रदेशले छुट्याउला भनेर हामीले पनि बजेट विनियोजन गरेनौं, अहिले बन्द गर्नुको विकल्प रहेन ।’

इकाइ बन्द हुँदा गाउँका झन्डै दुई दर्जन गर्भवती चेकजाँचबाट वञ्चित भएको खार्पुनाथ–३ की कमला रावलले बताइन् । ‘सामान्य बिरामीलाई पनि उपचार गर्न गाउँपालिकाको केन्द्रमा पुग्नुपर्ने भयो,’ उनले भनिन्, ‘गाउँमा सडक सुविधा छैन, हिँडेर जान सकिँदैन ।’ उनले इकाइ बन्द हुँदा बालबालिकाहरू खोपबाट पनि वञ्चित रहेको बताइन् ।यो वर्ष कार्यक्रम नै नआएपछि ४ वटा इकाइ बन्द गर्नुपरेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । ‘सीमित बजेट हुँदा ४ वटा इकाइ सञ्चालन गर्न समस्या भयो,’ उनले भने, ‘नभई नहुने ठाउँका इकाइका लागि भने बजेटको व्यवस्था गरिएको छ ।’बजेट नहुँदा जिल्लाभरिका २३ स्वास्थ्य इकाइ बन्द भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । प्रत्येक स्वास्थ्य इकाइमा ३/३ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको भए पनि बजेट नआउँदा समस्या भएको उनले गुनासो गरे । 

 (कान्तिपुर दैनिक)