News Desk
कपिलवस्तु — ऐतिहासिक तथा पुरातात्त्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) लाई विश्व सम्पदामा सूचीकृत गर्न २५ वर्षपछि फेरि प्रक्रिया अघि बढाइएको छ । पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले युनेस्कोका अन्तर्राष्ट्रिय सम्पदाविज्ञ काई वाइजेको नेतृत्वमा ३ सदस्यीय टोलीलाई यसबारे प्रारम्भिक चरणको काम जिम्मा लगाएको हो ।कन्जर्भेसन आर्किटेक्टद्वय एनी जोशी र क्रिस्टिना श्रेष्ठ सदस्य छन् । टोलीले चार/पाँच महिनायता काम गरेर युनेस्कोको विश्व सम्पदा सेन्टर पेरिसलाई बुझाउने वर्ड हेरिटेज नोमिनेसन डोसियर (दस्ताबेज) को प्रारम्भिक चरणको प्रतिवेदन बनाएको छ । प्रतिवेदनबारे जानकारी दिन मंगलबार सरोकारवालासँग तौलिहवामा छलफल गरेको हो ।
‘स्थानीयलाई प्रारम्भिक प्रतिवेदनबारे जानकारी दिइयो,’ लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले भने, ‘उहाँहरूबाट पनि सुझाव लियौं ।’ विश्व सम्पदामा सूचीकृत भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको दाबी छ । स्थानीयस्तरमा पर्यटन, कृषि र दिगो विकासलाई प्राथमिकता दिई वर्ल्ड हेरिटेज साइटमा सूचीकृत गर्नुपर्ने पूर्वमन्त्री दीपकुमार उपाध्यायले बताए । त्यस्तै, स्थानीयको पहिचान, कला, संस्कृति र धरोहरको संरक्षणमा ध्यान दिनुपर्ने राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेले बताए । ‘स्थानीयले आफ्नो जग्गा जमिन तिलौराकोटलाई दिए,’ उनले भने, ‘उनीहरूको भावनालाई समेटर काम गर्नुपर्छ ।’
तिलौराकोट विश्व सम्पदामा सूचीकृत गर्न सन् १९९५ मा पहिलोपटक काम थालिएको थियो । उक्त क्षेत्र सन् १९९६ मा नै विश्व सम्पदाको प्रारम्भिक सूचीमा परेको थियो । तर, तिलौराकोटको अध्ययन अनुसन्धान हुन नसकेपछि सूचीकृत गर्न प्रक्रिया अघि बढाइएन । सन् २०१४ देखि ९ वर्षसम्मका लागि बेलायतको डुह्राम विश्वविद्यालय र युनेस्कोले तिलौराकोटको अध्ययन अन्वेषण गर्दै आएका छन् । ‘तिलौराकोटभित्र बुद्धकाल आसपासका बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन्,’ अध्ययनमा संलग्न पुरातत्त्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले भने, ‘ठाउँठाउँमा ठूल्ठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन् ।’ पाँचौं शताब्दीमा आएका चिनियाँ यात्री फायहान र सातौं शताब्दीमा आएका ह्वेङसाङले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका तथ्य भेटिएका छन् । बेलायती प्रयोगशालामा माटो तथा कार्बन डेटिङ परीक्षण गर्दा प्राचीनतम भएको विवरण आएको हो ।
त्यस्तै, गौतम बुद्धको बाल्यकाल र युवावस्था बितेको तिलौराकोटमा गाउँको स्वरूपमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टि भएको पुरातत्त्वविद् बताउँछन् । समितिले वर्ल्ड हेरिटेज नोमिनेसन डोसियर प्रारम्भिक प्रतिवेदन तयार गर्छ । त्यसपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरू राखेर एकीकृत व्यवस्थापन योजना, पुरातात्त्विक क्षेत्र योजना र क्षेत्रीय योजना बनाएर पेस गर्नुपर्ने हुन्छ । ‘विश्वमा धेरै वर्ल्ड हेरिटेज नोमिनेसन डोसियर लेखेर सूचीकृत गराउनु भएका डंकन मार्सलसँग कुराकानी भइरहेको छ,’ लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भने, ‘उहाँ यहाँ आउन सकारात्मक हुनुहुन्छ ।’
सुरुमा फ्रान्सको पेरिसमा युनेस्को मुख्यालय वर्ल्ड हेरिटेज नोमिनेसन डोसियर प्रतिवेदन पेस गरिनेछ । त्यसबारे उठेका प्रश्नको जवाफ पठाउनुपर्छ । ‘लेखाइ निकै चुस्तदुरुस्त हुनुपर्छ,’ पुरातत्त्वविद् वसन्त बिडारीले भने, ‘उनीहरूले जे खोजे, त्यो बुझिने किसिमको हुनुपर्छ ।’ त्यसपछि विज्ञहरू स्थलगत अनुगमनमा आउँछन् । प्रतिवेदनमा उल्लेख भएका कुरा सही भए/नभएको र स्थानीयसँग विभिन्न कुराहरू बुझेपछि निर्णय लिन्छन् ।नेपालले सन् २०२२ को सेप्टेम्बरमा ड्राफ्ट प्रतिवेदन बुझाउने तालिका छ । त्यसपछि २०२३ को जनवरीमा अन्तिम प्रतिवेदन पेस गरिनेछ । २०२४ मा पेरिसमा हुने विश्व सम्पदा सेन्टरको बैठकलाई मध्यनजर गरेर अहिलेदेखि नै काम थालिएको हो ।
(कान्तिपुर दैनिक)