News Desk
दार्चुला — व्यवसायीहरूले जिल्लाको ग्रामीण क्षेत्रमा सञ्चालित जिपको भाडा बढाएपछि यात्रुहरू मारमा परेका छन् । खलंगा–टिंकर सडक खण्डको १२/१३ किलोमिटर दूरीमा जिप व्यवसायीहरूले प्रतिव्यक्ति तीन सय भाडा असुल गरिरहेका छन् ।जिल्ला प्रशासन कार्यालयले गत वर्ष स्थानीय कच्ची सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँका दरले भाडा तोकेको भए पनि दुहु क्षेत्रमा जिप चालकहरूले त्यसको कैयौं गुणा बढी भाडा उठाइरहेका छन् ।
अहिले टिंकर सडक खण्डमा दुहु गाउँपालिका–५ चल्लेगडासम्म यात्रुवाहक जिप चलिरहेका छन् । बर्सात् सुरु हुनुअघि यही सडकको पिपलचौरीसम्म प्रतियात्रु तीन सय भाडा थियो । अहिले चल्लेगडासम्मको भाडा तीन सय तिर्नुपरेको स्थानीय धनसिंह महराले बताए । उनले भने, ‘यो तोकिएको भन्दा जिप व्यवसायी आफैंले मनपरि भाडा असुल्छन् । महाकाली बहुउद्देश्य यातायात कम्पनीले चल्लेगाडासम्मको भाडा एक सय २५ रुपैयाँ निर्धारण गरेको छ । तर, यहाँका जिप व्यवसायीहरू स्थानीय यात्रुबाट धेरै भाडा असुल गरिरहेका छन् ।’
गाडीमा यात्रा गर्नुपर्ने बाध्यताले यातायात व्यवसायीले भनेअनुसारको भाडा दिनुपरेको स्थानीय बताउँछन् । अप्ठ्यारो बाटो र लामो समयसम्म हिँड्नुभन्दा बढी भाडा तिरेर भए पनि सदरमुकाम आउन बाध्य भएको स्थानीय धनराज जोशीले बताए । उनले भने, ‘जिप व्यवसायीहरू कच्ची र अप्ठ्यारो सडकको बहाना बनाएर बढी भाडा असुल्ने गरेका छन् ।’ एक गाडी नभरुन्जेल दोस्रो चल्न नमान्ने हुँदा अगाडि पछाडिको भाडा असुल हुने गरी मात्र जिप चल्ने प्रवृत्ति मौलाएको उनको भनाइ छ । ‘ग्रामीण सडकमा नियमनकारी निकायको उपस्थिति हुँदैन । स्थानीय नागरिक उजुरी गर्न पनि सक्दैनन्,’ उनले भने, ‘यसको फाइदा उठाउँदै जिप व्यवसायी राम्रो अवस्थाको सडक रहेको ठाउँमा पनि बढी भाडा असुल गर्दै आएका हुन् ।’
यसअघि दुहु गाउँपालिकाको केन्द्र हिकिलासम्म जिपको बुकिङ भाडा दुई हजारसम्म लिने गरेका थिए । १८ किलोमिटर दूरीमा रहेको हिकिलासम्म प्रतियात्रुबाट अढाई सयदेखि तीन सय भाडा लिने गरेका छन् । साउनको दोस्रो हप्ता पोखराभिर र चल्लेगडामा पहिरो खसेदेखि चल्यागाडासम्म मात्रै जिपहरू चल्ने गरेका छन् । मंगलबारबाट तीन सय भाडामा ३० रुपैयाँ कम लिइरहेको जिल्ला ट्राफिक कार्यालय दार्चुलाका असई हिक्मत महतले जानकारी दिए । उनले भने, ‘मंगलबारबाट पूर्णरूपमा समितिले कायम गरेअनुसार भाडा दर लागू गरिएको छ । कुनै जिप चालकले तोकिएको भाडाभन्दा बढी यात्रुबाट भाडा मागे प्रहरीलाई खबर गर्न आग्रह गरेका छौं ।’ यात्रुबाट बढी भाडा लिएको जानकारीमा आउनेबित्तिकै कारबाही गर्ने उनको भनाइ छ । उनका अनुसार मंगलबार मात्र बढी भाडा असुल्ने ४ जिपलाई कारबाही गरिएको छ ।
(कान्तिपुर दैनिक)