लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
News Desk
Aug-11 , 2021 तारिख 03:07 बेलुका

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस हुनुअघि नै उनले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् ।पोखरेलले बुधबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन् ।

सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।प्रदेशप्रमुख शेरचनले संविधानविपरीत विशेष अधिवेशन आह्वान गरेको भन्दै प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले अधिवेशन फिर्ताको माग राखी सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका छन् । मंगलबार हेर्न नभ्याइनेमा परेको उक्त रिट बुधबार पनि पेसीको आठौं नम्बरमा रहेकाले अधिवेशन स्थगित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

यसअघि बुधबार बिहान ८ बजे मुख्यमन्त्री निवासमै बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चको आदेश पर्खने र आदेश नआएको खण्डमा विशेष अधिवेशन सामना गर्ने वा राजीनामा दिने भन्ने निर्णयको अधिकार मुख्यमन्त्री पोखरेललाई नै दिएको थियो । संसदीय दलको बैठकमा विशेष अधिवेशन बहिष्कार गर्ने विषयमा पनि छलफल भएको प्रदेशसभा सदस्यहरूले बताए । बैठकमा बहुमत नपुग्ने अवस्था देखिएपछि राजीनामा दिँदा नै राजनीतिक जित हुने भनी केही सदस्यले सुझाव दिएको बताइएको छ ।संसदीय दलको बैठकपछि पोखरेलले मुख्यमन्त्री निवासमै मन्त्रिपरिषद् बैठक पनि डाकेका थिए । उक्त बैठकमा पनि मन्त्रीहरूको सुझाव सुनेका उनले त्यसलगत्तै प्रदेशप्रमुख शेरचनसमक्ष राजीनामा दिएका हुन् ।

अब प्रदेशप्रमुखले सरकार गठनको आह्वान गर्नेछन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले राजीनामा स्वागतयोग्य रहेको जनाउँदै अब कसरी अघि बढ्ने भन्ने विषयमा गठबन्धनले छलफल गरिरहेको बताए ।८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् । यसअघि पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै कारबाहीमा परेका जसपाका तीन मन्त्रीमध्ये भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेयले पनि मंगलबार बेलुकी राजीनामा दिएका थिए ।

 (कान्तिपुर दैनिक)