News Desk
बुटवल — २८ श्रावण २०७८)
बुटवल, लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश भएको छ । नयाँ सरकार गठनको लागि लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी प्रस्तुत गरेका हुन् ।मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरी गठबन्धनले आफ्नो सरकारको दाबी पेस गरेको माओवादी केन्द्रका सांसद सुदर्शन बरालले बताए । चारै दलको संसदीय दलको नेता, दलको निर्णय र सिफारिससहित प्रदेश प्रमुखकोमा गएका थिए ।
दलहरुको दाबीसहितको पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले समयसिमाभित्र अरुको दाबी आउने नआउने हेर्ने र मुख्यमन्त्रीको दाबीमाथि अध्ययन गरी नियुक्ति प्रक्रिया अघि बढाउने बताए ।एमालेकातर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बुधबार सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा धेरै दललाई बहुमतको सरकार बनाउन बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्ने समय तोकिएको छ । एमाले भने सरकारको दाबी पेस गर्ने पक्षमा छैन ।गठबन्धनले आजै मुख्यमन्त्रीको नियुक्ति शपथसहित ४ जनाको मन्त्रिपरिषद् गठनको तयारी गरेको छ । जसमा मुख्यमन्त्री सहित माओवादी केन्द्रबाट २, नेपाली कांग्रेस र जनता समाजवादीबाट एक एक जना सहभागी हुने गठबन्धनको तयारी छ ।
मुख्यमन्त्रीमा भने माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो नेतृत्व गर्ने निर्णय भएको छ । मुख्यमन्त्रीमा माओवादी केन्द्र र कांग्रेसले आलोपालो गर्ने, जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले बताए ।लुम्बिनी प्रदेशमा ८० प्रदेश सभा सदस्य छन् । यसमध्ये सूर्यचिन्हबाट चुनाव लडेका अजय शाहीले समेत साथ छोडेपछि एमाले ३७ सदस्यमा खुम्चिएको छ । गठबन्धनमा सभामुखबाहेक ४२ सदस्य छन् । तर सरकार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा धेरै दललाई बहुमतको सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छ ।
(कान्तिपुर दैनिक)