बिमा गराएका बिरामीको अस्पतालमा चाप
News Desk
Aug-12 , 2021 तारिख 11:46 बिहान

काभ्रे, हेटौंडा — २८ श्रावण २०७८  

काभ्रे, हेटौंडा , मधुमेहलगायत समस्या रहेकी काभ्रेको बनेपा, भैंसेपाटीकी संगीता बुढाथोकीले २ वर्षअघि ३ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गरेकी थिइन् । त्यसयता उनले स्वास्थ्य जाँच गराउँदा अस्पतालमा कुनै रकम खर्च गर्नुपरेको छैन ।‘औषधि र रगत जँचाउन गरी महिनाको ५ हजार रुपैयाँ जति बिल उठ्छ तर एक पैसा पनि तिर्नुपरेको छैन,’ धुलिखेल अस्पतालमा सेवा लिँदै आएकी बुढाथोकीले भनिन्, ‘स्वास्थ्य बिमा निकै राम्रो कार्यक्रम रहेछ, १ लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने भएपछि निकै सजिलो भएको छ ।’

पाँचखाल–४ की गीता नापितले पनि बिमा सुविधाले नै औषधि उपचार खर्च पुग्ने गरेको बताइन् । ‘एकपटक जचाउँदा ४ हजारजति खर्च हुने रहेछ, बिमाले नै पुगेको छ । इन्सुलिनलगायत केही औषधि भने नपाइने भएपछि किन्नुपरेको छ,’ नापितले भनिन्, ‘भर्ना नै भएर उपचार गर्दा पनि एक पैसा परेन, निकै राम्रो सेवा रहेछ, सन्तुष्ट छौं ।’स्वास्थ्य बिमा बोर्ड, काभ्रेकी दर्ता अधिकारी मुना निरौलाका अनुसार गत असार मसान्तसम्म काभ्रेमा ३० हजार परिवारका ९१ हजार ३ सय जनाले स्वास्थ्य बिमा गरेका छन् । ५ जनासम्मको परिवारका लागि ३ हजार ५ सय रुपैयाँ तिरेर बिमा गरेपछि एक वर्षसम्म १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध हुन्छ । काभ्रेका लागि धुलिखेल अस्पताल, मेथिनकोट अस्पतालका साथै खोपासी, सुन्थान, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु तोकिएको छ । २०७६ भदौ २४ बाट काभ्रेमा स्वास्थ्य बिमा कार्यक्रम लागू छ । एचआईभी संक्रमित, एमडीआर टीबी, पूर्ण अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, कुष्ठरोगीले तिर्नुपर्ने प्रिमियम रकममा पूर्ण छुट र महिला स्वास्थ्य स्वयंसेविकाले तिर्नुपर्ने प्रिमियम रकममा ५० प्रतिशत छुट दिइएको छ ।

 

कार्यक्रमअन्तर्गत जिल्लाका अन्य स्वास्थ्य संस्थामा सेवा सञ्चालन नभएका कारण धुलिखेल अस्पतालमा बढी भार परेको छ । धुलिखेल अस्पतालमा हाल दैनिक ७ सयदेखि १४ सय जनासम्म बिरामी सेवा लिन आउने गरेकामा ७० प्रतिशतसम्म स्वास्थ्य बिमा गर्नेछन् । ‘बिरामीको फ्लो राम्रो छ, सोहीअनुसार व्यवस्थापन पनि गरेका छौं,’ अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले भने, ‘केही सेवा सुविधा पनि थप्दै छौं तर भुक्तानीलगायतका कारण कहिलेकाहीं समस्या हुने गरेको छ ।’ काभ्रे, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका बिमितले समेत धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दु छनोट गरेका छन् । भक्तपुरका बिमितसमेत सेवाका लागि धुलिखेल नै आउने गरेका छन् । चापका कारण स्वास्थ्य जाँच गर्न चिकित्सकले दिने समय थोरै हुने, एकै दिनमा सबै परीक्षण नसकिने र भिडियो एक्सरेलगायतका सेवाको पालो धेरै समयपछि मात्रै आउने समस्या छ ।

६ वर्षअघि कैलालीबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम मकवानपुरमा पनि प्रभावकारी बनेको छ । गत आव २०७७/७८ मा स्वास्थ्य बिमा गर्ने ३३ हजार ९ सय ६६ जना थपिएका छन् । सेवा सुरु भएको पहिलो वर्ष २०७४ मै मकवानपुरमा ५५ हजार ३ सय ८१ जनाले बिमा गरेका थिए । यो संख्यामा हालसम्म १ लाख ३८ हजार ५ सय ५५ जना पुगेको स्वास्थ्य बिमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नरबहादुर खड्काले बताए । जसमध्ये ७१ हजार १ सय ८४ जना महिला र ६७ हजार ३ सय ६७ जना पुरुष छन् । ३२ हजार ५७ जनाले बिमा नवीकरण गरेका छन् । ‘कोरोना महामारीको कठिन परिस्थितिमा पनि ८७ प्रतिशतले बिमा नवीकरण गरेका छन् ।

यो अघिल्लो वर्षको भन्दा बढी हो,’ उनले भने । उनका अनुसार बिमा गर्नेमा ३९ हजार २ सय ५० परिवारले पूर्ण शुल्कमा बिमा गरेका छन् । त्यस्तै, ६ हजार १ सय ३२ जना ज्येष्ठ नागरिक, ८ सय ७२ पूर्ण अपांगता भएका, एचआईभी संक्रमित २ सय ३७ जनाले बिमा सेवा पाएका छन् ।बिमा गरेकाले हेटौंडा अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल तथा छतिवन, मनहरी, भीमफेदी र पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा पाउँछन् । हेटौंडा अस्पतालमा अहिले स्वास्थ्य बिमा गराएका बिरामीको चाप छ । बिमामार्फत १ सय ३० प्रकारका औषधि निःशुल्क दिइन्छ । 

(कान्तिपुर दैनिक)