News Desk
रुपन्देही — २८ श्रावण २०७८
रुपन्देही , लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो तीन बजेसम्मको समयसीमा तोकेका छन् ।मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाका ४१ जनाको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता फकरुद्धिन खानले एक जना स्वतन्त्र सांसदसहित ४२ जनाको हस्ताक्षरमा केसीलाई मुख्यमन्त्रीमा दाबी गर्ने गरी तयारी भइरहेको बताए । ‘अहिले सबै पार्टीको संसदीय दलको बैठक बस्दै छ,’ उनले भने, ‘त्यही बैठकबाट आज हुने सानो मन्त्रिमण्डलका लागि पनि मन्त्रीको नामको टुंगो लाग्ने छ ।’ खानका अनुसार आज चार सदस्यीय मन्त्रीमण्डल बन्ने छ ।गठबन्धनमा रहेका चार दलमध्ये एक प्रदेशसभा सदस्य रहेको जनमोर्चा सरकारमा सहभागी नहुने जनाएको छ । कांग्रेस, माओवादी र जसपाबाट एक/एक जनालाई आजै बिनाविभागीय मन्त्रीको शपथ खुवाउने गरी सहमति भएको माओवादी केन्द्रका नेता सुदर्शन बरालले बताए ।
‘ठूला दुवै दलमा आकांक्षी धेरै नै हुनुहुन्छ,’ उनले भने, ‘नयाँ अनुहार र पुराना अनुभवी दुवैलाई मिलाएर मन्त्रिपरिषद बनाउने विषयमा केन्द्रित रहेर छलफल भइरहेका छन्, तर, व्यक्ति र मन्त्रालयको टुंगो लाग्न बाँकी नै छ ।’ बिहीबार सानो आकारको मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए ।मुख्यमन्त्री नियुक्त र सरकार गठनका लागि दाबी पेस गर्ने विपक्षी गठबन्धनका नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन् । गठबन्धनबीच मुख्यमन्त्रीमा आठ–आठ महिना आलोपालो गर्ने सहमति भए पनि अन्य मन्त्रालय बाँडफाँडको काम बाँकी नै छ । पहिलो ८ महिना केसी र २०७८ फागुन २ गतेपछि नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडिया मुख्यमन्त्री बन्ने सहमति छ । केसी रोल्पा १ (क)बाट निर्वाचित हुन् ।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् ।नवलपरासी पश्चिमबाट सूर्य चिन्ह लिएर स्वतन्त्रबाट निर्वाचित एक सदस्य अजय शाही बुधबारदेखि गठबन्धनमा खुलेपछि विपक्षी गठबन्धनको संख्या ४३ पुगेको छ । नयाँ सरकार गठनमा दाबी पेस गर्ने प्रदेश प्रमुखले दिएको समयसीमामा एमालेका तर्फबाट दाबी गर्ने–नगर्ने भन्ने टुंगो नलागेको र छलफल भइरहेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।
(कान्तिपुर दैनिक)