बजेट ग्राभेलमा, दुर्दशा उस्तै
News Desk
Aug-12 , 2021 तारिख 01:19 बेलुका

धनगढी — २८ श्रावण २०७८

धनगढी, वर्षायामका बेला धनगढी उपमहानगरपालिका कैयौं सडक हिलाम्य र खाल्डाखुल्डीले आवागमनमै समस्या भोग्नुपरेको नगरवासीको गुनासो छ । उपमहानगरले ग्राभेलिङ र खाल्डाखुल्डी पुर्ने नाममा वार्षिक ४ करोडभन्दा बढी बजेट खर्च गर्ने गरेको छ । बर्खाको समयमा मुख्य बजार मार्गसहित प्रमुख आवासीय क्षेत्र हसनपुर, तारानगर, उत्तरबेहडी, बैयाबेहडीभित्रका दर्जनौं भित्री सडकको पिच फुटेर खाल्डाखुल्डी परेका छन् । ती सडकमा आउजाउको समस्या र दुर्घटना बढ्ने गरेको स्थानीय टोलवासीले गुनासो गरेका छन् ।

‘न्यून गुणस्तरमा निर्माण गरेका भित्री सडक एक बर्खा पनि टिक्दैन,’ उत्तरबेहडीका सुरेश विष्टले भने, ‘पिच फुटेर सडकमा ठूल्ठूला खाल्डाखुल्डीले आउजाउ मात्रै नभएर दुर्घटनासमेत बढाएको छ ।’ नगरपालिका र वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिले भने यिनै खाल्डाखुल्डी पुरेको नाममा बिल बनाएर ठूलो रकम कुम्ल्याउने गरेको उनले आरोप लगाए । उनले बोराडाडी पीपल चौतरा सडकका खाल्डाखुल्डी पुरेको नाममा मात्रै अहिलेसम्म भएको खर्च खोज्ने हो भने लाखौं रकम खर्चिएको पाउन सक्ने बताए ।

उक्त अढाई किलोमिटर सडकमा एक सय ठाउँमा ठूल्ठूला खाल्डाखुल्डी रहेको अर्का स्थानीय केशव पन्तले बताए । ‘खाल्डाखुल्डीले यो सडक खण्डमा दिनहुँजसो दुर्घटना निम्त्याउने गरेको छ,’ उनले भने, ‘यो सडक वडा नम्बर ४ र ५ मा पर्ने उत्तरबेहडी, तारानगर, हसनपुरको बाहिरीपट्टि पर्ने अति चल्तीको सडक पनि हो ।’ उनले अत्तरिया र धनगढी ६ लेनबाट बजार प्रवेश नगरी आवासीय क्षेत्रमा जाने मुख्य सडक भएको बताए ।पन्तका अनुसार यो सडक पिच भएको दोस्रो वर्ष नै फुटेको थियो । ‘फुटेपछि परेका खाल्डाखुल्डीमा ग्राभेलिङ भरेर पिच ग्राभेल सडक जस्तै भएको छ,’ उनले भने, ‘खाल्डाखुल्डी भर्न नगरपालिका र वडाबाट ८/१० टिपर ग्राभेल खसाउँछ । त्यसले झन् सडक खराब बनाएको छ ।’ उनले नगरपालिका आफैं खाल्डाखुल्डी पुर्ने ग्राभेलमा ढुंगा बढी भएर झन् सडक दुर्घटना गराउने गरेको बताए ।

त्यस्तै, धनगढीको डिभोटीदेखि पीपल चौतरा हसनपुर भित्री सडक खण्डमा आउजाउमा पनि समस्या छ । नगरका भीआईपी बसोबास बढी भएको, स्कुल, कलेज सरकारी कार्यालयसमेत बढी रहेको हसनपुर आवासीय क्षेत्रको मुख्य सडकको दुर्दशाले नगरपालिकाकै कामको हाँसो उडाइराखेको हसनपुरका नारायण सत्यालले बताए । उनका अनुसार सवारीसाधन गुड्नै नसक्ने खाल्डाखुल्डी परेका छन् । ‘बारम्बार नगरपालिकालाई खाल्डाखुल्डी पुर्नका लागि अनुरोध गर्दै आएका छौं,’ उनले भने, ‘अति व्यस्त यो सडकको मर्मतमा नगरपालिका लाज पचाएर बसेको छ ।’

धनगढी उपमहानगरपालिकाका इन्जिनियर दत्तराम जोशीले हिलाम्य र खाल्डाखुल्डी पुर्नमा वार्षिक १ करोड खर्च हुने गरेको बताए । ‘आफ्नै टिपरमा ग्राभेल ल्याएर खाल्डाखुल्डी पुरिरहेका छौं,’ उनले भने, ‘यति बेला खोलानाला बन्द भएकाले धेरै ठाउँका खाल्डाखुल्डी पुर्न नसकिएको पनि हो ।’ग्राभेल भनिएका र ग्राभेल पनि पर्न नसकेका कच्ची बाटोमा स्थानीय पानी बढी परेका बेला घरमै थुनिनुपरेको वडा नम्बर १३ का सिद्धराज भट्टले भने, स्थानीय सरकारको कार्यकाल पुग्न लागेको पाँच वर्षमा धेरै गर्‍यो भन्छ, नगरवासी अझै बढी पानी परेपछि घरमै थुनिने गरेका छन् ।’ उनले ग्राभेलसमेत राम्रोसँग नगर्दा आउजाउमा समस्या भोक्नुपरेको छ ।’

धनगढी उपमहानगरका योजना शाखाका प्रमुख इन्जिनियर द्विजराज भट्टले हरेक वर्ष ३० देखि ४० किलोमिटर ग्राभेल सडक, १० देखि १५ किलोमिटर कालोपत्र सडक बन्दै गएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ४० किलोमिटर ग्राभेलिङ सडक निर्माणमा ३ करोड खर्च भएको छ । उनले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म १ सय ७४ किलोमिटर ग्राभेलिङ सडकमा करिब १० करोड जति खर्च भएको बताए ।धनगढी–५ का हर्क सिहले उपमहानगरपालिकाले वर्षमा ग्राभेलिङ, ट्र्याक खोलेको र सडक मर्मतको नाममा खर्च हुने पाँच वर्षको बजेटले पूरै सडक पिच भइसक्नुपर्ने बताए ।

इन्जिनियर भट्टले ढल नालीबिनाका भित्री क्षेत्रमा बर्खामा पानी जम्ने समस्याले सडक फुट्छ, खाल्डाखुल्डी हुन्छ, स्वाभाविक रूपमा गुनासो आउने गरेको बताए । ‘त्यसैले पछिल्लो समयमा ढल र नालीबिना आवासीय क्षेत्रको सडक योजना बन्द गरिसकेका छौं,’ उनले भने ।उनले सहरीकरणको पहिलो चरणमा तीव्र समस्या देखा पर्ने गरेको बताए । ‘अहिले धनगढी उपमहानगरपालिका पनि पहिलो चरणको सहरीकरणमा छ,’ इन्जिनियर भट्टले भने, ‘सडकलगायत सबै पूर्वाधार विकासमा कमीकमजोरी र समस्या देखिन्छ । जनताको चाहना तीव्र रूपमा समस्याको समाधान खोज्ने हुन्छ । बजेट भने अभाव हुन्छ ।’

(कान्तिपुर दैनिक)