अछाममा महिला हिंसाका घटना बढे
News Desk
Aug-12 , 2021 तारिख 01:27 बेलुका

अछाम — २८ श्रावण २०७८ 

अछाम , लगातारको कोरोना संक्रमणले जनजीवन प्रभावित भएको समयमा अछाममा महिला हिंसा र घरेलु हिंसाका घटना बढेका छन् । कोरोनाका कारण रोजगारी गुमाएर घरफर्केका पुरुषहरू गाउँमा बेरोजगार भएपछि त्यसको मारमा अधिकांश महिला परेका छन् । मदिरा सेवन गर्ने पुरुष छन् भने हिंसा महिलामाथि बढेको छ । तुर्माखाद गाउँपालिकाकी २१ वर्षीया रुपा (नाम परिवर्तन) हिंसाको मारमा परेकी छन् । १५ वर्षको उमेरमा बिहे गरेकी रुपाले १७ वर्षमा पहिलो सन्तान पाइन् । बिहेअगाडि जाड रक्सी नखाने सर्तमा बिहे गरेका श्रीमान्ले ६ महिना नपुग्दै रुपामाथि चरम यातना दिन थाले । ‘लागूऔषधसंँगै मदिरा सेवन गरेपछि ससानो कुरामा शंका गरेर मलाई पिट्थे ।

‘श्रीमान् बम्बै गएपछि म ढुक्कले घरमा बस्न पाउँथें । कोरोनाको डरले गत वर्षको लकडाउनमा घर आएपछि मलाई दिनहुँजसो पिट्न थाले,’ उनले आफुले व्यहोरिरहेको पीडा सुनाउँदै भनिन्, ‘श्रीमान्ले यातना दिएको भन्दै धेरैले मलाई प्रहरी चौकीमा जान भन्थे । आफ्नो माइती, परिवार र श्रीमान्को इज्जत खलबल नहोस् भनेर आफैं यातना सहेँ । तर अहिले सहनै नसक्ने भएपछि प्रहरीसम्म पुगेँ ।’रुपाको केस ५ पटकसम्म प्रहरी चौकीमा तुर्माखाँदमा मेलमिलाप भएको तर श्रीमन्ले लगातार यातना दिन थालेपछि अहिले उनी न्यायको लागि सदरमुकामसम्म पुगेकी छन् । ‘एक महिना अगाडि मलाई सासै फेर्न गाह्रो हुने गरी कुट्यो । अन्तमा दाम्लोले बाँधेर पासो लगाएर मार्छु भनेर घिसार्ने बेला म भाग्न सफल भएँ ’ उनले भनिन् ,‘अब म त्योसँग बस्न सक्दिनँ । अन्तिमसम्म मुद्दा लड्छु ।’

श्रीमान्ले जहिल्यै मदिरा सेवन गरेर कुटपिट गर्ने गरेका कारण सहन नसकेपछि न्याय माग्दै प्रहरीकोमा पुगेकी कमलबजार नगरपालिकाकी रम्भा (नाम परिवर्तन)ले बताइन् । पटकपटक पिट्ने फेरि मिल्ने गरेका उनका श्रीमान्ले कहिल्यै पनि रम्भालाई शान्त वातावरणमा बस्न नदिएको रम्भाले सुनाइन् । बिहे गरेको ४ वर्षमा नै मदिराका कारण परिवारमा निकै तनाव उत्पन्न हुँदा छुट्टिनुपर्ने अवस्थामा पुगेको उनले बताइन् ।‘चार पटकसम्म सदरमुकाममा आएर प्रहरीको अगाडि मिलेर गए । तर, घरमा गएर फेरि कुटपिट गर्न रोकिएन,’ उनले भनिन्, ‘अन्तिममा मैले घर छोड्नुपर्‍यो । एक महिना सेफ हाउसमा बसेँ । त्यसपछि झन् बिचल्ली भएको छ ।’ प्रहरीकहाँ मुद्दा पर्‍ुयाएपछि घरमा सबैले असहयोग गर्ने र बस्ने वातावरण नभएको उनले दुःखेसो पोखिन् ।

अछाम सदरमुकाम मंगलसेन नगरपालिकाकी शान्ति (नाम परिवर्तन) श्रीमान् भारतबाट फर्केको दोस्रो महिनादेखि नै शारिरिक र मानसिक यातना भोगिरहेकी छन् । भारतमा कोरोना संक्रमण फैलिन थालेपछि उनका श्रीमान् गत वर्ष घर आए । पहिलो महिनासम्म झैझगडा घरमा केही भएन । दोस्रो महिनाबाट श्रीमान्ले आफूसहित छोराछोरीलाई मदिरा सेवन गरी कुटपिट गर्न थाले । धेरै दिनसम्म श्रीमान्को व्यवहार सहन नसकेपछि गाउँका जान्ने बुझनेलाई उनले समस्या सुनाइन् । उनीहरूले पनि मिलेर बस्नुपर्छ, सहनुपर्छ, प्रहरीलाई खबर गर्नु हुँदैन । बदनाम हुन्छ भनेर सम्झाए ।तर उनी यातना सहेर बस्न सक्ने स्थितिमा थिइनन् । माइतीको सहारामा बसिरहेकी छन् । ‘गाउँका जनप्रतिनिधि पनि मिलेरै बस्नुपर्छ भन्छन् । बिहान, साँझ कुटपिट सहेर बस्नै सकिन । अहिले छोराछोरीसहित माइतीघरमा बसेकी छु,’ उनले भनिन्, ‘बिहानैबाट रक्सी खान सुरु गर्ने, गाउँबाट कर्जा मागेर ल्याउ भनेर पिट्ने । यस्तो अवस्थामा न म घर फर्किन सक्छु । न त माइती घरमा धेरै बस्न सक्छु ।’

 

पञ्चदेवल विनायक नगरपालिकाकी चन्द्राले भारतबाट फर्किएका श्रीमान्ले मदिरा सेवन गरी चरम यातना र अनावश्यक शंका गर्न थालेपछि ३ छोराछोरीसहित प्रहरी चौकीमा उजुरी दिन आइन् । प्रहरीले सामान्य घरायसी झगडामा मेलमिलाप नै गर्नुपर्छ भनेपछि उनी पनि सहमतीमा आइन् । तर त्यो सहमति धेरै टिकेन । ‘प्रहरी चौकी जाँदा मिलाएरै पठाउँछन् । घर फर्किएपछि फेरि रक्सी खाएर कुटपिट गर्न र शंका गर्न सुरु भयो,’ उनले भनिन्, ‘सामान्य झैझगडा हुँदा प्रहरी चौकी जाने भए यसअगाडि पनि जान्थे नि । अति भएपछि मात्रै प्रहरी चौकीसम्म जान बाध्य भएकी हुँ । त्यता जाँदा पनि सामान्य ढंगले बुझेपछि हाम्रा समस्या कसले बुझिदिने !’

आफैंमाथि हिंसा भएको थाहा पाउँदा पाउँदै पनि कतिपय महिलाहरू प्रहरी चौकीमा उजुरीका लागि जान सक्दैनन् भने गएपछि पनि मेलमिलाप भएर फर्किदा पनि झन् याताना भोग्नुपरेको अधिकांश हिंसा प्रभावित महिलाको गुनासो छ । ‘म मात्रै होइन, मजस्ता धेरै महिला सानोतिनो समस्या पर्दा, सहन सक्नेसम्म हुँदा प्रहरी कार्यालय वा अन्त कतै जादैनौं । सहनै नसक्ने आवस्था आएपछि मात्रै न्यायका लागि आग्रह गर्छौं,’ घरेलु हिंसाबाट प्रभावित भएकी एक महिलाले भनिन्, ‘श्रीमान् /श्रीमतीको झगडा त हो । मिल्नुपर्छ भनेर दबाब आउँछ । जसले पटकपटक मार्नका लागि प्रयास गर्छ त्यो आफ्नो कसरी हुन्छ ।’ अनेक समस्या झेल्दै प्रहरी चौकीसम्म पुगेकी महिलालाई अदालतसम्म जाने वातावरण नभएको उनको भनाइ छ । अदालतसम्म पुग्दा अनेक तरिकाले बयान फेर्न लगाउने गरेको उनको गुनासो छ ।

जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, सुरक्षित आवास गृह मंगलसेनमा आर्थिक वर्ष ०७७/७८ मा महिला हिंसासम्बन्धी आएका मुद्दालाई हेर्दा अदालतसम्म भने कम मुदा पुगेका छन् । न्यायका लागि अदालतसम्म गएका धेरै मुद्दा फैसला हुँदासम्म बयान फेर्न लगाउने गरेको मंगलसेनकी एक हिंसा प्रभावित महिलाका आफन्तले बताए । ‘हिंसा भएको छ , न्यायका लागि अदालतसम्म पुग्दा अन्तामा महिलालाई बयान फेर्न लगाए । धेरै राजनीति गर्नेहरू नै यस्ता घटनामा बढी हाबी हुन्छन् ।’जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक जनक बोहराका अनुसार २०७६ चैत २५ गतेदेखि हालसम्म आत्महत्याका घटना ४८, विष सेवन गरेका ३, पानीमा हाम फालेर मृत्यु १, आत्महत्या दुरुत्साहनका १२ र घरेलु हिंसासम्बन्धी ८६ वटा निवेदन जिल्ला प्रहरी कार्यालयमा आएका छन् ।

घरायसी विवादका कारण ३९ वटा उजुरी प्रहरीकोमा आएको उनले बताए । ‘यी सबै घटनामा भारतबाट आएका अधिकांश श्रीमान् नै संलग्न देखिन्छन् । श्रीमान्विरुद्ध श्रीमतीले उजुरी दिएका घटना धेरै आएका छन् । यसमा मदिरा नै मुख्य कारण देखिन्छ,’ प्रहरी निरीक्षक बोहराले भने, ‘सानातिना कुरामा विवाद हुने र त्यसले पछि ठूलो रूप लिन थालेको देखियो ।’६ महिनाकै अवधिमा ४ वटा हत्याको आशंकामा किटानी जाहेरी भएको र २२ वटा आत्महत्याका घटना घटेको उनले बताए । ‘यसअघि एक आर्थिक वर्षमा घट्ने घटनाहरू यो पटक ६ महिनामै घटिसके । यसले अझै ठूलो रूप लिन सक्ने देखिन्छ । मंगलसेनमा रहेको सुरक्षित आवास गृहमा आव ०७७/७८ मा हिंसा प्रभावित ७५ महिलाले आश्रय लिएको मनोसामाजिक मनोविर्मशकर्ता पार्वती बोहराले बताइन् ।

घरेलु हिंसा, कुटपिट, गाली बेइज्जती, घरनिकाला, यौनशोषण, बलात्कार, बाल विवाह, बहुविवाहलगायतका घटना धेरै आएको उनले बताइन् । जिल्लाका लागि न्यायको अन्तिम निकायका रूपमा रहेको जिल्ला अदालत अछाममा आव ०७७/७८ मा महिलासम्बन्धी ६१ मुद्दा दर्ता भएका छन् । तीमध्ये ३४ मुद्दाको फैसला भयो भने १८ मुद्दाको फैसला हुन बाँकी रहेको जिल्ला अदालत अछामका नायब सुब्बा कमल ढुंगानाले बताए । उनका अनुसार महिलासम्बन्धी मुद्दामा देवानी मुद्दा २२ सरकारवादी फौजदारी मुद्दा २७ र दुनियाँवादी फौजदारी मुद्दा ३ वटा दर्ता भएका छन् । 

(कान्तिपुर दैनिक)