News Desk
काँकडभिट्टा — २८ श्रावण २०७८
काँकडभिट्टा, मेरुदण्डको बाथ (एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस) का बिरामी झापा, बिर्तामोड–२, चारपानेका ३२ बर्षीय प्रकाश शर्माको दैनिकी पीडादायी छ । समयमै उचित उपचार नपाउँदा तीन वर्षदेखि उनी ओछ्यान परेका हुन् ।‘हिँडडुल गर्न सक्नु हुन्न,’ प्रकाशकी पत्नी राधाले भनिन्, ‘तीन वर्षदेखि ओछयान पर्नुभएको उठ्न सक्नुभएको छैन ।’ प्रकाशलाई मेरुदण्डको बाथ भएको १२ वर्ष नाघ्यो । ओछ्यान नै परेको चाहिँ तीन वर्ष भयो । ‘चार वर्ष अघिसम्म त काम पनि गर्न सक्थेँ,’ काठको मिस्त्री काम गर्ने प्रकाशले भने, ‘तर, अहिले केही गर्न सक्दिनँ, ओछ्यानमै दिन, रात बित्छ ।’
सुरुमा कुर्कुचा दुख्यो तर उनले सामान्य ठाने । सामान्य रूपको उपचार गरे । पछि समस्या बढ्दै गयो । पेट दुख्न थाल्यो । पेटपछि घुँडाको जोर्नी दुख्यो । ‘शरीरका जोर्नीहरूमा सुन्निने र पानी जम्ने भयो,’ प्रकाशले सुनाए, ‘समयमै रोग पहिचान नहुँदा उपचार राम्रो भएन, आज यो हबिगत भोग्दै छु ।’ मेरुदण्डको बाथको प्रमुख लक्षण ढाडको तल्लो भाग दुख्नु हो । यो दुखाइ महिनौंसम्म रहिरहन्छ र बिस्तारै बढ्दै जान्छ । आराम गर्दा ज्यादा दुख्ने र केही काम वा हिँडडुल गर्दा दुखाइ कम हुने यसका विशेषता रहेको चिकित्सकले जनाएका छन् ।
प्रकाशले १२ वर्षभित्र नेपाल र भारतका विभिन्न अस्पतालहरू चाहरिसके । ‘यस क्रममा करिब १५ लाख रुपैयाँ जति सकियो,’ उनले भने, ‘तर, बिमार बिसको उन्नाइस भएको छैन ।’ स्थानीय छरछिमेक तथा सहारा नेपाललगायत संघसंस्थाको आर्थिक सहयोगमा गत वर्ष उनी भारतको दिल्ली र भेल्लोरसम्म पुगे । उपचारपछि फर्किए । तर, बिमार ज्युँकात्युँ । डाक्टरले मेरुदण्डको बाथको शल्यक्रियाबाट मात्रै उपचार सम्भव हुने र त्यसका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने जनाएका छन् । तर, यत्रो रकम कहाँबाट जुटाउने भन्ने चिन्ताले प्रकाश थप तनावमा छन् ।
उनका अनुसार बिर्तामोडको कनकाई अस्पतालका डाक्टर प्रेमबहादुर शाहीले १५ लाख रुपैयाँ जति रकम जम्मा गरे शल्यक्रिया गर्न सकिने जनाएका छन् । प्रकाश थप्छन्, ‘अलिअलि भएको जायजेथा पनि सकियो, घरजमीन बैंकमा छ । यत्रो रकम कसरी जुटाउने होला थाहा छैन ।’ कमाएर घर परिवारको गर्जो टार्ने व्यक्ति नै थलिएपछि पत्नी राधालाई परिवार चलाउन समस्या भएको छ । दुई जना बच्चालाई पढाउनसमेत गाह्रो भइरहेको उनले बताइन् । ‘उहाँले काम गरेर परिवार चलेको थियो,’ राधाले बिलौना गाइन्, ‘घरमुली नै ओछ्यान परेपछि हाम्रो बिचल्ली हुन लागेको छ ।’ प्रकाशले आफू बाँच्न चाहेको र बचाइदिन सबैलाई आग्रह गरेका छन् ।
(कान्तिपुर दैनिक)