१९ वर्षदेखि ओछ्यानमै
News Desk
Aug-13 , 2021 तारिख 11:06 बिहान

सप्तरी — २९ श्रावण २०७८  

सप्तरी, आर्थिक अभावका कारण उचित उपचार हुन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का एक जना झन्डै १९ वर्षदेखि ओछ्यानमै छन् । शैलेन्द्रकुमार र कौशिलादेवीका छोरा प्रल्हाद मण्डलको अवस्था जन्मिँदै शारीरिक रूपमा असामान्य थियो ।सप्तरीको तिलाठी कोइलाडी–४ का प्रल्हाद मण्डललाई बुधबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य । तस्बिर : अवधेशकुमार/कान्तिपुरपरिवारले भारत बिहारको दरभंगामा उपचारका लागि लगेका पनि थिए । तर चिकित्सकले नसा च्यापिएका कारण उक्त स्थानमा उपचार सम्भव नभएको भन्दै फर्काइदिएका प्रल्हादका ठूलोबुबा शिवेन्द्र मण्डलले बताए ।

‘जन्मेदेखि नै ओछ्यानमा छन्,’ शिवेन्द्रले भने, ‘सानै छँदा उपचार गराए पनि निको भएन, अहिले उपचार गर्न ठूलो रकम चाहिने भएकाले अस्पताल लैजान सकेका छैनौं ।’ उनको शरीरका कुनै पनि भाग चल्दैन । दिनभर परिवारका अन्य सदस्यले हेरचाह गरे पनि बेलुका ८५ वर्षीय हजुरआमा सुखिया देवीले उनको स्याहार गर्दै आएकी छन् । प्रल्हादका बुबाआमा भने कमाउन भारतको पञ्जाब गएको १४ वर्ष बित्दासमेत अझै फर्किएका छैनन् ।

‘कमाउन गएका छोराबुहारी फर्केर आएनन्, अपांग नातिको स्याहार गर्दै जिन्दगी बितेको छ,’ नातिको अवस्थाले सधैं पिरोल्ने गरेको सुनाउँदै हजुरआमा सुखियादेवीले भनिन्, ‘नाति ठूलो होला अनि बुढेसकालको सहारा होला भन्ने सोचेकी थिए । तर बालकदेखि जवान भइसक्दा पनि ओछ्यानको ओछ्यानमै छ ।’ नातिको उपचार सम्भव भए सहयोग गरिदिन उनले आग्रहसमेत गरिन् ।प्रल्हादका भाइ ध्रुव भने शारीरिक रूपमा सबल छन् । उनी इनरुवास्थित फुपूको घरमा बसेर अहिले कक्षा ९ मा पढिरहेका छन् । ‘प्रल्हाद अहिले बाँचिरहेका मात्र छन् । अरू केही छैन,’ तिलाठी कोइलाडी–४ का अध्यक्ष गोपी मण्डलले भने, ‘उनका लागि सिंगो परिवार र समाज चिन्तित छ ।’

प्रजिअले दिए नागरिकता

जन्मेदेखि नै थलिएका प्रल्हाद राज्यका तर्फबाट पाउने सुविधावाट वञ्चित हुँदै आएका थिए । उनको अवस्थाबारे जानकारी पाएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य बुधबार उनको घर पुगेर जनप्रतिनिधि र स्थानीयको रोहवरमा वंशजका आधारमा नेपाली नागरिकता प्रदान गरे । ‘शारीरिक अशक्तताले उनी प्रशासन कार्यालयसम्म पुग्न सक्ने अवस्था थिएन । त्यसैले म आफैं नागरिकता दिन आएको हुँ,’ नागरिकता प्रदान गरेपछि प्रजिअ आचार्यले भने, ‘यिनलाई सहयोगको खाँचो छ । हामीले आफ्नो स्तरबाट सकेसम्म सहयोग गर्छौं । अरूको पनि सहयोगको खाँचो छ ।’नागरिकता नहुँदा उनी सेवासुविधावाट वञ्चित हुनु परिरहेकाले घरमै आएर नागरिकता दिएको प्रजिअ आचार्यले बताए । सो अवसरमा सप्तरी युथका तर्फबाट कोषध्यक्ष विष्णु यादवले प्रल्हादका लागि पौष्टिक आहार खरिद गर्न ५ हजार रुपैयाँ प्रदान गरेका थिए । 

(कान्तिपुर दैनिक)