News Desk
काठमाडौँ — कोरोना महामारीले लामो समय बन्द भएका हल खुल्न थालेसँगै भारतमा ठूला स्टारका फिल्महरू प्रदर्शनको तयारीमा छन् । संक्रमण दर घटेसँगै गत जुलाई अन्तिमदेखि भारतका हल खुल्न थालेका हुन् । दिल्लीलगायत विभिन्न सहरका हल ५० प्रतिशत दर्शक क्षमतामा खोलिएपछि महामारीअघि प्रदर्शन रोकिएका फिल्मले मिति पक्का गरेका हुन् । यसअघि मार्चमा खुलेका हल कोरोना फेरि बढेपछि बन्द भएका हुन् ।
अक्षय कुमार अभिनीत 'बेल बटम'ले अगस्ट १९ देखि हलमा आउने तयारी थालेको छ । यसलाई महामारीपछि हलमा प्रदर्शन हुने ठूलो फिल्मका रूपमा चर्चा गरिएको छ । लामो समय सुनसान रहेका हलमा अक्षयकुमारले दर्शक तान्नेमा आशावादी छन्, सञ्चालकहरू ।अक्षयपछि हलमा अभिनेता अमिताभ बच्चनको फिल्म 'चेहेरे' प्रदर्शनमा आउने भएको छ । इमरान हासमी, रिया चक्रवर्ती अभिनीत फिल्म अगस्ट २७ देखि प्रदर्शनमा आउने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । बच्चनले सामाजिक सञ्जाल ट्विटरमा हालै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका थिए ।
(कान्तिपुर दैनिक)