News Desk
बर्दिया — छोराको हात भाँच्चिएपछि बारबर्दिया–५ की लक्ष्मी थारु उपचारका लागि स्थानीय आरसी थारु मेमोरियल नगर अस्पताल पुगिन् । छिमेकीले गाउँकै अस्पतालमा उपचारका लागि सल्लाह दिएपछि उनी त्यहाँ पुगेकी हुन् । उपचारपश्चात् छोराको हात निको भयो । गाउँमै उपचार गराउन पाएकामा लक्ष्मी अहिले दंग छिन् । बारबर्दिया–६ मनिकापुरमा गत चैत २ बाट उक्त अस्पताल सञ्चालनमा आएको हो । स्थानीय लोकबहादुर विष्टले अस्पताल सञ्चालनमा आएपछि जटिल खालका बाहेक अन्य रोगको उपचार हुन थालेको बताए । त्यसले गुलरिया, नेपालगन्ज, कोहलपुर जान छाडेको उनले बताए । अहिले तीन जना चिकित्सकले नियमित सेवा दिन थालेका छन् । पाँच कट्ठा क्षेत्रफल रहेको यस अस्पतालमा ५ करोड रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ ।
स्थानीय थानेश्वर थारुले अस्पतालमा राम्रो उपचार पाउन थालेपछि स्थानीय मेडिकल हलहरूमा बिरामीको संख्या घट्दै गएको बताए । अस्पतालभित्रै फार्मेसी भएकाले मेडिकल हलभन्दा सस्तो औषधि त्यहीं पाइने गरेको उनले सुनाए । अस्पतालभित्र ल्याब, एक्सरे, क्षयरोग, सिकलसेलको परीक्षण हुने गरेको छ । इमर्जेन्सी सेवालगायत यस अस्पतालमा कोभिडका बिरामीका लागि छुट्टै कोठामा उपचार गरिन्छ । तीन महिनाअघि गुलरिया, नेपालगन्ज र कोहलपुरमा कोभिडका बिरामीले अक्सिजनसहित राम्रो उपचार नपाएपछि यहाँ भर्ना भएका थिए । कोभिडका बिरामीका लागि यहाँ निःशुल्क उपचार हुनुका साथै कुरुवाका लागि पनि खाना, नास्ता र बस्ने व्यवस्था मिलाइएको छ ।
नगर प्रमुख दुर्गाबहादुर थारुले अस्पताललाई थप सुविधासम्पन्न र अत्याधुनिक बनाउन लागिएको बताए । अस्पतालमा आँखा उपचारसमेत हुन थालेको उनले जनाए । अस्पतालमा स्टाफ नर्स दुई, अनमी चार, पारामेडिकल ६, फार्मेसी दुई, रेडियोग्राफर एक र ल्याब असिस्टेन तीन जना कार्यरत छन् । नगर प्रमुख थारुले ईसीजी सेवा, डिजिटल एक्सरे र अल्ट्रासाउन्ड गर्ने मेसिन पनि राख्ने तयारी भइरहेको बताए । यस अस्पतालमा बहिरंग सेवामा दैनिक १ सय ८० देखि २ सयसम्म बिरामी नियमित आउने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन सापकोटाले बताए ।
हाल यहाँ कोभिडका चार जना बिरामी उपचारका लागि भर्ना भएका छन् ।नगर प्रमुख थारुले एम्बुलेन्स खरिदका लागि बजेट विनोयोजन भइसकेको जनाए । गाउँमै सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएपछि स्थानीय खुसी भएको महिला स्वयंसेविका लीला सुवेदीले बताइन् । अस्पतालमा थप जनशक्ति र उपकरण भए जटिल खालका बिरामीहरू बाहिर जाने अवस्था नहुने उनको भनाइ छ ।
(कान्तिपुर दैनिक)