लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न
News Desk
Aug-14 , 2021 तारिख 07:25 बिहान

 लुम्बिनी -प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । बुटवलमा आयोजित उक्त साधारण सभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समिति मध्ये १२ जना सदस्य समेत चयन गरेको छ । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै अबका दिनमा आयातित ब्यापारलाई निरुत्साति गरी उत्पादनमुखि अर्थतन्त्रमा ध्यान जानु जरुरी रहेको बताए ।

त्यसै गरी विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको बुद्ध भुमिको अन्तर्राष्ट्रिय प्रचार, उनन्तिस प्रतिशत भुभाग कृषियोग्य रहेको र यसको समुचित प्रयोग गरी कृषिमा जोड दिई आत्मनिर्भर हुनुपर्ने,कृषिमा आधारित उद्योग ब्यावसायको बिकास र निर्यातमुखि ब्यावसाय संचालन गर्न सबै तहका चेम्बरहरुको ध्यान जाने कुरामा आफु बिश्वस्त रहेको बताए । साथै, उनले आआफ्नो ब्यावसायको साथमा सबै ब्यावसायीहरु एकत्रित भई सहकारी वा कम्पनी संचालन गरी कृषि, पशुपालनजन्य तथा जडिबुटीजन्य उद्योग ब्यावसाय संचालनमा लाग्न जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालयका सचिब बाबुराम अधिकारी, उद्योग मन्त्रालयका सचिब डा.राजेन्द्र केसि, पत्रकार महासंघका अध्यक्ष सुमन अधिकारीले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले स्वागत मन्तब्य राखेका थिए । सदस्यमा चयन भएका सबैलाई निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता विनोद गौतमले सपथ ग्रहण गराए ।

प्रथम साधारण सभाबाट चयन भएका सदस्यहरुको प्रथम बैठकले उपाध्यक्षमा श्रीधर महरा, महासचिवमा झविन्द्र कंडेल, सचिवमा चिरञ्जिबी पोखरेल, कोषाध्यक्षमा यूवराज न्यौपाने, सदस्यहरुमा उदयराज लम्साल, यम कुमारी सुवेदी, मदन खड्का, पदम पोखरेल, जय प्रकाश गुप्ता, सुकदेब बेल्वासे, खिम बहादुर खत्री, उमानाथ घिमिरे, मनोनित तर्फ शिव ज्ञवाली, महिला तर्फ मन्जु पराजुलीलाई चयन गरेको छ। प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष नेपाल चेम्बर अफ कमर्स कार्य समितिले चयन गर्ने र अन्य पदमा जिल्ला, महानगर, उपमहानगर, नगर, गाउपालिका तथा वडा चेम्बरहरुबाट निर्वाचन हुने बैधानिक ब्यवस्था रहेको छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दिपक श्रेष्ठ सातवटै प्रदेश चेम्बर अफ कमर्सका अध्यक्षहरु, प्रदेश भरका जिल्ला, नगर, गाउपालिका तथा वडा चेम्बरका अध्यक्षहरु तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम जुम तथा भौतिक उपस्थिती दुबै प्रयोग गरिएको थियो ।