News Desk
उदयपुर — ३२ श्रावण २०७८
उदयपुर, ग्रामीण बजारमा म्याद गुज्रेका अखाद्य र नक्कली वस्तुको बिक्री बढेको छ । अनुगमन नहुँदा यो क्रम रोकिएको छैन ।स्थानीय प्रशासनको बजार अनुगमन सहर केन्द्रित छ । स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेको छैन । दुर्गमका उपभोक्ता महँगो मूल्य तिरेर म्याद गुज्रेको, अखाद्य, नक्कली वस्तुको उपभोग गर्न बाध्य छन् । कटारी, नेपालटार, मुर्कुची, गाईघाट, बेल्टार, रामपुर सुगमका व्यापारिक केन्द्र हुन् । तराईसँग जोडिएका यी मुख्य व्यापारिक केन्द्रबाटै माथिल्लो पहाडी र ग्रामीण क्षेत्रका दैनिक उपभोग्यलगायत वस्तु आपूर्ति गरिन्छ । यी व्यापारिक केन्द्रमै चाउचाउ, बिस्कुट, दालचामल, तेल, चिसो पेयपदार्थ लगायत अधिकांश वस्तुका थोक बिक्रेता छन् । ग्रामीण क्षत्रेका बजारमा स्थानीय थोक बिक्रेताले नै दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने गरेका छन् ।
‘गाईघाट, कटारी, बेल्टार र रामपुर बजार स्थानीय प्रशासनको पहुँचमा छन्,’ स्थानीय कुन्ता रेग्मीले भनिन्, ‘त्यसैले यहाँका व्यापारीले म्याद सकिन ५/७ दिन बाँकी हुँदै चाउचाउ, विस्कुट, पेयपदार्थ लगायतका वस्तु ग्रामीण क्षेत्रमा पठाउँछन् ।’ महामारी र मुख्य बजार टाढा भएको मौकामा थोक बिक्रेताले पहाडी क्षेत्रका स्थानीय बजारमै उपभोग्य वस्तु आपूर्ति गर्छन् । घरमै ल्याइदिने र सस्तो दिने बहानामा म्याद गुज्रेका अखाद्य र नक्कली वस्तु आपूर्ति गरिरहेको रौतामाई गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले बताए ।‘गाउँपालिकाले उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति बनाएको छ,’ उनले भने, ‘तर पहाडी क्षेत्र भएकाले सबै बजार पुग्न सडक छैन, भएको सडक पनि वर्षात्ले बगाएर हिँड्न सक्ने अवस्था नै छैन ।’ त्यसैले बजार अनुगमन गर्न नसकिएको उनले बताए ।
‘पहाडी क्षेत्रमा मात्रै होइन गाईघाट बजारमै अखाद्य वस्तु मिसाएका खाद्यान्य, म्याद गुज्रिएका औषधिसँगै शृंगारका सामग्रीसमेत नक्कली बिक्री भइरहेको छ,’ गाईघाट बजारकी नम्रता बराइलीले भनिन, ‘व्यापारीमा धेरै मुनाफा चाहिएको छ, उनीहरू जस्तोसुकै वस्तु बिक्री गरे पनि हुन्छ भन्ने मान्यताको विकास भइसकेको छ ।’ असार १५ गते बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए । ग्रामीण पहाडी क्षेत्रमा भने अनुगमन गर्न समस्या रहेको उनको भनाइ छ ।’
(कान्तिपुर दैनिक)