उपत्यकाको फोहोर अझै १५ दिन नउठ्ने
News Desk
Aug-17 , 2021 तारिख 11:45 बिहान

काठमाडौँ — १ भाद्र २०७८  

काठमाडौँ, काठमाडौं उपत्यकाको फोहोर अझै १५ दिनसम्म नउठ्ने भएको छ । फोहोर फाल्दै आइएको स्थल नुवाकोटको सिसडोल ल्यान्डफिल साइटसम्म पुग्ने सडक बिग्रिएकाले फोहोर संकलन गर्न नसकिने काठमाडौं महानगरले स्पष्ट पारेको छ । जसका कारण उपत्यकाका सडक, चोक र गल्लीमा फोहोर थुप्रिन थालेको छ ।समयमै महानगरको फोहोर लिने गाडी नआएपछि स्थानीयले सडक किनारमै फोहोर फाल्न थालेका छन् । ‘सडक मर्मत कार्य जारी छ । बिग्रेको सडक बनेर नियमित फोहोर उठ्न कम्तीमा १५ दिन लाग्छ,’ महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने ।

शंखमूल, बानेश्वर, सामाखुसी, ठमेललगायत स्थानका सडक किनारमा फोहोरका डंगुर देखिएका छन् । सधैंजसो वर्षायाममा फोहोर व्यवस्थापनमा व्यवधान हुँदै आएकामा यस वर्ष जेठयता नियमित फोहोर संकलन भइरहेको छैन । यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दा सडकमै थुपारिएकाले अहिले समस्या भएको उनको भनाइ छ । ‘पहिले सडकमै फोहोर फालियो । अहिले त्यही फोहोरमाथिबाट गाडी चल्नुपर्छ । त्यही भएर पानी पर्नासाथ गाडी फस्न थाल्छ ।’ अहिले फोहोर विसर्जन गर्न झन्डै ८० मिटर फोहोरमाथि गाडी गुडाउनु परिरहेको उनले बताए ।महानगरले सोमबार सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई फोहोर घरबाहिर ननिकाल्न अपिल गरेको छ । ‘ल्यान्डफिल साइटको सडक केही दिनदेखिको अविरल वर्षाका कारण बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकाले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरको सूचनामा भनिएको छ ।

 

उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ  । तर अहिले दिनमा ५ सय मेट्रिक टनको हाराहारीमा मात्रै फोहोर उठिरहेको छ । यसरी उठाइएको फोहोर केही सिसडोल त केही टेकु ट्रान्सफर स्टेसनमा पुर्‍याउने गरिएको छ । ‘फोहोर बोकेर गएका गाडी सडकमा नफसुन् भन्दै घाम लाग्ने प्रतीक्षामा हुन्छन् । पानी परे जान सक्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘फोहोर व्यवस्थापन मौसममा भर पर्छ ।’ उनका अनुसार काठमाडौं महानगरबाट मात्र दिनमा १ सय ५० गाडी फोहोर सिसडोल पुग्नुपर्ने भए पनि अहिले मुस्किलले ५० गाडी फोहोर पुर्‍याउन सकिएको छ ।

 

ललितपुर महानगरको फोहोरमैला व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्रराज अवालेले घरबाट फोहोर नउठाइएको एक साता पुगेको बताए । ‘सडक तथा चोकमा फोहोर नदेखियोस् भनेर त्यहाँका मात्र फोहोर उठाइरहेका छौं,’ उनले भने, ‘घरघरबाट फोहोर नउठाएको एक साता भइसक्यो ।’ ललितपुरमा मात्र दिनमा १ सय १५ टनसम्म फोहोर उत्पादन हुन्छ । तर महानगरले अहिले सडकको मात्र झन्डै ३० टन फोहोर उठाएर बालकुमारीस्थित ट्रान्सफर स्टेसनमा राख्ने गरेको उनले बताए । सिसडोल ल्यान्डफिल साइटमा फोहोर नपठाएको पनि साता दिनजस्तै हुन लागेको उनले जानकारी दिए । भक्तपुर क्षेत्रमा पनि सडक तथा चोकमा फोहोरको थुप्रो देखिन थालेका छन् । यसअघि सिसडोलवासीको आन्दोलनका कारण पनि पटक–पटक उपत्यकाको फोहोर उठ्ने गरेको थिएन । 

(कान्तिपुर दैनिक)