News Desk
मनाङ — २ भाद्र २०७८
मनाङ, गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सोमबार स्थलगत निरीक्षण गर्दै आवास निर्माणका लागि प्रतिपरिवार २ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।उनले बेंसीसहर–चामे सडक खुलाउन संघीय सरकारले काम थालिसकेको र ताल गाउँसम्म गाडी चल्न थालेको बताए । ‘संघीय सरकारले जिल्लालाई विपद् संकटग्रस्त घोषणा गरिसकेको छ,’ उनले भने, ‘विभिन्न बस्तीको पुनर्निर्माणका लागि पनि समन्वय भइरहेको छ ।
’सदरमुकाम चामेमा बाढीकै कारण विद्युत् सेवा अवरुद्ध भएपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरूमा सोलार जडान गरिदिएको छ । बाढीपहिरोले यस वर्ष ८५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । नासों गाउँपालिका–१ मा सबैभन्दा धेरै ७० घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । धारापानीका १२ घरमा क्षति पुगेको छ ।अर्थमन्त्री रामजीप्रसाद बरालले प्रभावितहरूको पहिचान गरी तत्काल र दीर्घकालीन रूपमा समस्या समाधानका लागि सरकार कटिबद्ध भएको बताए ।
गाउँपालिकाको अधिकांश बस्ती बगरमा परिणत भएकाले अस्थायी बसोबासको प्रबन्ध भइरहेको उनको भनाइ छ ।अझै पनि मर्स्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । नासोंका धारापानी, थोंचे, दानाक्यु, ताचै, तिल्चे, ताल गाउँलगायत मनाङमा गत असार १ मा मर्स्याङ्दी नदी र दूध खोलामा आएको बाढीका कारण गाउँका नौवटै वडा प्रभावित भएको अध्यक्ष घलेले बताए । सडक, सञ्चार र बिजुली नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।
(कान्तिपुर दैनिक)