News Desk
विराटनगर — २ भाद्र २०७८
विराटनगर, कोरोना संक्रमितको संख्या न्यून रहेको भन्दै पाँचथर र ताप्लेजुङमा निषेधाज्ञा खुकुलो पारिएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका क्षेत्र भने सिल गरिएको छ । तीव्र संक्रमण विस्तार भइरहेको भन्दै नगरक्षेत्र मंगलबारदेखि १० दिनका लागि सिल गरिएको हो ।पाँचथरमा संक्रमित भई घरमै स्वास्थ्यलाभ गरिरहेकाको संख्या ६ सय १३ छ । अस्पतालको आइसोलेसनमा १९ जना उपचाररत छन् । छिमेकी जिल्ला ताप्लेजुङमा सक्रिय संक्रमित ३ सय ४ जना छन् । कोभिड उपचार केन्द्रमा १४ जनाको उपचार भइरहेको छ । संक्रमितको यस्तो तथ्यांकका बीच दुवै जिल्लाले निषेधाज्ञालाई खुकुलो बनाएका छन् । पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालद्वारा जारी आदेशमा बिहान ५ देखि साँझ ५ बजेसम्म बजार तथा पसल खोल्ने अनुमति दिइएको
छ । दुई र चारपाङ्ग्रे सवारीसाधन सञ्चालनका लागि पनि अनुमति दिइएको छ भने सुरक्षा मापदण्ड अपनाएर नियमित परीक्षा सञ्चालन गर्न भनिएको छ । होटल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ महल, मनोरन्जन स्थल, पार्क, सैलुन, ब्युटिपार्लर, जिम खाना र समूहमा खेलिने खेल भने बन्दै रहनेछन् ।ताप्लेजुङमा राजनीतिक दलका गतिविधिबाहेक सबै क्षेत्र खुला गरिएको छ । प्रजिअ उमेश पाण्डेले भदौ १ देखि लागू हुने गरी एक साताका लागि घोषणा गरेको आदेशमा सुरक्षा मापदण्ड पालना नगरे ऐनअनुसार कारबाही गर्ने उल्लेख छ । कोरोनाको दोस्रो लहरयता ताप्लेजुङमा १६ र पाँचथरमा १८ जनाको मृत्यु भएको छ ।
उता नगरक्षेत्र सिल गरिएको खोटाङको दिक्तेल रूपाकोट मझुवागढीमा सरकारी कार्यालयहरूको सेवासमेत बन्द गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताए । उनका अनुसार यातायात, बजार, पसललगायत सबै सार्वजनिक सेवाहरू पनि ठप्प हुनेछन् ।तरकारी पसल भने बिहान ७ देखि २ घण्टाका लागि खोल्न सकिने छ । ‘केही सातायता संक्रमण ह्वात्तै बढेको देखियो,’ रिजालले भने, ‘१० दिनसम्म कडाइका साथ सिल गर्ने निर्णय गरिएको हो ।’ प्रजिअ मित्रलाल शर्माले भने सरकारी कार्यालय र बैंकको सेवा भने बन्द नहुने जनाए ।
(कान्तिपुर दैनिक)