News Desk
मोरङ — २ भाद्र २०७८
मोरङ, कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न लकडाउन र निषेधाज्ञा लगाइए पनि गत आर्थिक वर्ष २०७७/७८ मा सवारी दुर्घटना अघिल्लो आव २०७६/७७ को भन्दा दुई गुणाले बढेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्यांकअनुसार आव २०७५/७६ मा ४ सय ८४ र अघिल्लो आवमा ४ सय ८७ सवारी दुर्घटना भएका थिए । यो तथ्यांक गत आवमा बढेर १ हजार ४ सय २० पुगेको हो । सवारी दुर्घटनाको संख्यामा उल्लेख्य वृद्धि भए पनि दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या भने घटेको छ ।
आव २०७५/७६ मा १ सय ५ को मृत्यु, २ सय ५२ गम्भीर घाइते र ६ सय २ जना सामान्य घाइते भएका थिए । अघिल्लो आवमा ८९ को मृत्यु, २ सय ७ गम्भीर र ५ सय २३ जना सामान्य घाइते भएका थिए । गत आवमा यो संख्या क्रमशः २१, ५७ र ३ सय २० जना रहेको मोरङ ट्राफिक प्रहरी प्रमुख चन्द्रबहादुर खड्काले जनाकारी दिए । तीन तहको सरकार गठन भएपछि सहरदेखि गाउँ–गाउँ र टोल–टोलसम्म सडक सञ्जाल विस्तार भएको र त्यहीअनुसार सवारीसाधनको संख्या पनि बढेकाले दुर्घटना बढेको उनको भनाइ छ ।
‘लकडाउन र निषेधाज्ञामा ठूला सवारीसाधन चलेनन् । पास भएका साना सवारी सडक खुला भएको बेला तीव्र गतिमा गुडाउँदा अनियन्त्रित भएर दुर्घटना अधिक भएको देखिन्छ,’ उनले भने, ‘अन्य सवारीमा ठोकिएर कम दुर्घटना भएकाले मृत्यु र घाइतेको संख्या कम भएको हो ।’ नियमित सवारी जाँच, चेतनामूलक कार्यक्रम अघि बढाउने तयारी गरेको उनले जनाए ।मोरङ ट्राफिक प्रहरीले विगत वर्षभन्दा गत वर्ष राजस्व पनि बढी असुलेको छ । गत आवमा जिल्लाभर ट्राफिक नियम उल्लंघन गरेका ७० हजार १ सय २९ सवारीसाधनबाट ४ करोड २० लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको खड्काले बताए । अघिल्लो आवमा ५४ हजार २ सय ९ सवारीसाधन कारबाहीमा पर्दा ३ करोड १९ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व उठेको थियो ।
(कान्तिपुर दैनिक)