'कोहलीवाद’ मा भारतको जित
News Desk
Aug-18 , 2021 तारिख 12:42 बेलुका

लन्डन — २ भाद्र २०७८  

लन्डन, ओलि रोबिन्सन लर्डसको लङ्ग रूममा छाएको अँध्यारो छिचोल्दै मैदानको मध्यभागसम्म पुगे । इंग्ल्यान्डले ९० रनमा ७ विकेट गुमाइसकेको थियो । रोबिन्सनले मोहम्मद सिराजको ह्याट्रिक बल सामना गर्नेक्रममा थिए ।मैदानमा चारैतर्फ रहेको भारतीय समर्थक खुसीले झुमिरहेका थिए । फर्स्ट स्लिपमा रहेका विराट कोहलीले आफ्नो हात उठाएर निर्देशन दिइरहेका थिए । मानौं, उनी अर्केस्टामा चलिरहेका छन् । उनले महसुस गरिसकेका थिए, इंग्ल्यान्ड हार्दै छ ।जतिबेला रोबिन्सन पेभेलियनबाट निस्कँदै थिए, ट्र्याकसुटमा रहेका केही भारतीय खेलाडी विपरीत दिशाबाट भित्र आइरहेका थिए । उनीहरूले भर्खर मैदानमा ड्रिंक्स पुर्‍याएका थिए । रोबिन्सनले उनीहरूलाई बाटो दिन खोजे, तर भारतीय खेलाडी भित्र छिरेनन् । रोबिन्सन कुरिरहे । भारतीय खेलाडी पनि कुरिरहे ।

केही क्षणपछि दुवैले अनुहार बिगार्दै आ–आफ्नो बाटो काटे । यो केही सेकेन्डकै घटनामात्र थियो, तर यसले बयान गरिरहेको थियो, दोस्रो टेस्टको अन्तिम दिन कति तनावपूर्ण थियो भनेर ।कोहलीको व्यवहार नै छुच्चो देखिन्छ । चौथो दिनको अन्त्यतिर जेम्स एन्डरसनविरुद्ध गालीका शब्दहरू कोहलीकै मुखबाट निस्किरहेको थियो । अचेल भारतीय टिमका लागि क्रिकेट मैदान युद्धभूमि जस्तो लाग्छ, जहाँ मायामा जस्तै जे गर्दा पनि हुन्छ । जतिबेला भारतको जित सम्भव भयो, मैदानमा तिनका समर्थकको खुसी पनि हेरिनसक्नु थियो । जतिबेला तिनै एन्डरसन सुरक्षात्मक स्टोक खेलेर आउट भए, मैदानमा स्टम्प उखेल्न कत्ति पनि समय लागेन ।

भारतको समर्थन गर्न २० पाउन्ड तिरेर मैदान आएका समर्थकले भरपूर मज्जा लिए । कोहली पनि जितको उन्मादमा मस्त थिए । खासमा यो ‘कोहलीवाद’ को जित थियो । यी कप्तान पछिल्लो समय ब्याटबाट त चम्किरहेका छैनन्, तर उनको नेतृत्वमा भारतीय टिमले फरक छवि बनाएको छ । जुन धेरैलाई मन नपर्न सक्छ । टिम जिद्दी लाग्न सक्छ अनि भलाद्मी देखिन्न । यही कारणले गर्दा ५ टेस्ट शृंखलाको दोस्रो खेलमा प्राप्त १ सय ५१ रनको जित फरक छ ।केही अर्थमा महान् छ । यो किन महान् छ भन्दा भारतले जसरी जित्यो, त्यसमा रनअन्तर ठूलो थिएन । ठूलो थियो त प्रवृत्ति । आधुनिक भारतीय शैलीमा यो टेस्ट जितेको थियो, टिममा चार तीव्र गतिका बलर थिए । ब्याट्सम्यान पनि खरा थिए नै ।

तिनमा रातो र सेतो बल दुवै खेल्ने क्षमता थियो । अचेल भारतीय खेलाडीलाई पछाडि हट्न आउँदैन । जस्तै स्थितिमा अगाडि बढ्न मात्र खोज्छन् उनीहरू । खासमा ‘एटिच्युड’ बनाएको छ । के इंग्लिस टिमले यस्तो प्रतिद्वन्द्वी कहिल्यै सामना गरेको थियो त ?सायद यस्तै छवि सन् ७० र ८० को दशकतिर वेस्ट इन्डिज टिमको थियो । सन् ८० र ९० तिर अस्ट्रेलियाली टिमले पनि यस्तै बन्ने प्रयास गरेको थियो । जो रुटको इंग्लिस टिमले बेहोरेको हारमा पनि आफ्नै फरक विशेषता रह्यो । हार पीडादायी हुन्छ । तर यसमा खोट लगाउन मिल्ने सबैभन्दा ठूलो पक्ष थियो, टिमको कमजोर प्रदर्शन । भनौं, इंग्लिस टिममा अहिले कुनै प्रकारको स्तरीयता भन्ने नै छैन । पछिल्लो समय यस्तो खराब प्रदर्शन कसैलाई सम्झना छैन ।

टेस्टको सुरुआती १३ सत्रसम्म दुई टिममा खासै भिन्नता थिएन । तर अन्तिम दुई सत्रले पूरा टेस्टको नतिजा निर्धारण गरेको थियो । त्यसमध्ये पनि १४ औं सत्रमा मोहम्मद सामी र जसप्रित बुमराहले ब्याटबाट कमाल गरे । त्यसपछि तिनै सामी र बुमराहले बलबाट पनि कमाल गरे । त्यस प्रदर्शनअगाडि लागिरहेको थियो, इंग्लिस खेलाडीलाई क्रिकेट खेल्न आउँदैन । साना फुच्चेले वयस्कविरुद्ध क्रिकेट खेलिरहेको जस्तै थियो, पूरा दृश्य ।जतिबेला रोबिन्सनले इशान्त शर्मालाई बिहानको आठौं ओभरमा आउट गरेका थिए । स्टुवार्ट ब्रोडले ट्विट गरेका थिए, ‘निकै राम्रो ।’ लागिरहेको थियो, भारत हार्दै छ । तर त्यसको केही ओभरपछि इंग्ल्यान्डले आफ्ना दुवै प्रारम्भिक ब्याट्सम्यानलाई व्यक्तिगत शून्यको स्कोरमा गुमाएको थियो । तय भइसकेको थियो, इंग्ल्यान्डका लागि ‘निकै खराब’ हुँदै छ । इंग्ल्यान्ड कमजोर थियो, त्यसैले त टिम टेस्ट क्रिकेटको ६० ओभर पनि टिक्न सकेन । यता ‘कोहलीवाद’ मा भारतीय टिम झुमिरहेको छ । 

(कान्तिपुर दैनिक)