News Desk
धादिङ — २ भाद्र २०७८
धादिङ, नौबीसे–नागढुंगा सडक खण्डमा बुधबार बिहान पहिरोले अवरुद्ध सडक आंशिक खुलेको छ । पहिरोमा फसेको ट्रक निकालेपछि सडकबाट साना सवारी पार गराइएको हो । ठूला सवारी भने अझै बाटैमा अलपत्र छन् । पहिरोकै कारण दुवैतर्फ गाडीको जाम लागेको छ । जाम खुलाउन र पहिरो पूरै पन्छाउन पहल भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी निरीक्षक रूपा थापाले बताइन् ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका क्रममा सडक फराकिलो बनाउन डाँडा काट्दा खसेको पहिरोले सडक थुनिएको हो ।सडक अवरुद्ध भएपछि काठमाडौं प्रवेशका लागि तराईलगायत विभिन्न जिल्लाबाट आएका सवारीसाधन अलपत्र छन् । उक्त स्थानमा यसअघि पनि पहिरोका कारण १५ परिवार विस्थापित भइसकेका छन् ।
(कान्तिपुर दैनिक)