थवाङखोला जलविद्युत्‌को डीपीआर तयार
News Desk
Aug-18 , 2021 तारिख 04:28 बेलुका

रुकुम पूर्व — २ भाद्र २०७८  

रुकुम पूर्व, भूमे गाउँपालिकाले जनतासँगको संयुक्त लगानीमा बिजुली उत्पादन गर्ने भएको छ । भूमे गाउँपालिकाको ५१ र सर्वसाधारणको ४९ प्रतिशत सेयर लगानीमा एक मेगावाट विद्युत् उत्पादन गर्ने गरी गाउँपालिकाले काम अघि बढाएको हो । थवाङखोला जलविद्युत् आयोजना निर्माण गर्ने गरी गाउँपालिकाले प्रक्रिया अघि बढाएपछि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । त्यसपछिका कामका लागि गाउँपालिकाले प्रक्रिया अघि बढाएको हो ।

आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा यो परियोजना बनाउने निर्णय भएको थियो भने त्यसका लागि आधारभूत बजेट पनि विनियोजन भएको थियो ।गत आर्थिक वर्ष २०७७/०७८ मा १३ लाख ६१ हजार ५ सय २२ रुपैयाँमा काठमाडौंको डिजाइर इन्जिनियरिङ कन्सल्टेन्सीले डीपीआर तयार गरेको हो । हाल नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्रीको सम्झौताको प्रक्रियामा रहेको जनाइएको छ । यसका साथसाथै सेयर निष्कासनका लागि नेपाल धितो बोर्डसँग सम्झौताका लागि काम भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए ।

‘डीपीआरदेखि फिल्डका आधारभूत काम सकिएपछि प्राधिकरण, धितो बोर्डको प्रक्रियामा लागिएको छ,’ उनले भने, ‘त्यो प्रक्रिया पूरा भएपछि भौतिक निर्माणको काम गर्ने योजनामा गाउँपालिका छ ।’ निरन्तर बगेर खेर गइरहेको पानीको उपयोग गरेर विद्युत् निर्माणको काम गर्ने योजना अघि बढाइएको उनको भनाइ छ । आयोजनाको लागत अनुमान २० करोडको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड बजेट विनियोजन गरेको छ । 

(कान्तिपुर दैनिक)