एक घण्टा हिँडेर खोलाको पानी
News Desk
Aug-18 , 2021 तारिख 04:47 बेलुका

हुम्ला — नाम्खा गाउँपालिका–५ तुम्कोटका स्थानीय एक घण्टा हिँडेर तुम्कोट खोलाको धमिलो पानी ल्याएर उपभोग गर्न बाध्य छन् । पानीको मुहान बाढीले बगाएपछि उनीहरूलाई एक घण्टा हिँडेर खोलाको पानी ल्याइ पिउनुपर्ने बाध्यता भएको हो । गाउँमा खानेपानी अभाव भएपछि एक घण्टा हिँडेर पानी ल्याउन जाँदै हुम्लाको नाम्खा गाउँपालिका–५ का स्थानीय । गत साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीका लागि स्थानीयले ठूलो सास्ती भोग्दै आएका छन् ।

स्थानीय बासिन्दा थुप्देनग्यान्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइपलाइन बगाएपछि धमिलो खानुपर्ने बाध्यता भएको बताए । ‘पिठ्युँमा बोकेरै पानीको जोहो गर्नुपर्ने वाध्यता छ,’ उनले भने, ‘महिला तथा बालबालिकाको दिन पानी ओसार्नमै वित्छ ।’ पानी अभावले गाउँभरका शौचालय प्रयोगविहीन बनेको उनले जानकारी दिए ।खानेपानी मर्मतमा पालिकाले ध्यान नदिएको स्थानीय ल्यार्केल लामाले बताए । ‘एक घण्टा हिँडेर पानी लिन खोलामै जानुको विकल्प छैन,’ उनले भने, ‘त्यहाँ पनि घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार पालो नपाउने डरले स्थानीयवासी राति उठेरै पानी भर्न मुहानमा जान बाध्य छन् । उनले तुम्कोटका २५ परिवार खानेपानीको चरम समस्यामा भएको बताए ।

पशुचौपायालाई पानी खुवाउन खोलामै झार्नुपर्ने बाध्यता भएको स्थानीयको गुनासो छ । ‘अहिले त जतिखेर पनि पानीकै चिन्ता हुन्छ,’ लामाले भने, ‘खानेपानी अभावका कारण सरसफाइका काम प्रभावित बनेका छन्, गाउँका सबै शौचालय प्रयोगविहीन बन्न थाले ।’ ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक दन्त शाहीका अनुसार फुइसिङ खानेपानी तथा सरसफाइ योजना बाढीले बगाएपछि गाउँमा खानेपानी हाहाकार भएको बताए । ‘पानी पनि पर्न छाड्यो,’ उनले भने, ‘स्थानीयलाई पानी ओसार्न दिनभरिको समय दिनुपर्ने बाध्यता छ ।’ बाढीले खानेपानीको सबै संरचना बिगारेको शाहीले बताए । उनका अनुसार गत वर्ष आयोजना सम्पन्न गरी गाउँमा ६ वटा सार्वजनिक धारा निर्माण गरिएको थियो । उनले खानेपानी योजना मर्मतका लागि पहल थालिएको जानकारी दिए । 

(कान्तिपुर दैनिक)