सवारीले छेक्छ बाघको बाटो
News Desk
Aug-19 , 2021 तारिख 12:44 बेलुका

पर्सा — २ भाद्र २०७८ 

पर्सा, पर्सा राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको त्रिभुवन राजपथमा सवारीसाधनको चापले निकुञ्जका बाघको हिँडडुलमा बाधा पुगेको एक अध्ययनले देखाएको छ । निकुञ्जको एउटा भाले बाघमा रेडियो कलर जडान गरेर ६ महिनादेखि जारी अनुगमन र अध्ययनले यस्तो देखाएको हो ।वन मन्त्रालय, अमेरिकी युनिभर्सिटी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त लगानीमा बाघको गतिविधि निगरानी गरिएको हो । निकुञ्जको आधाभारस्थित कार्यालय र संरक्षण कोषको अमलेखगन्ज तथा सौराहामा रहेको कार्यालयबाट उक्त बाघको गतिविधि नियालिँदै छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार बाराको हल्खोरिया दह क्षेत्रमा बस्दै आएको करीब ८ वर्षको उक्त भाले बाघमा फेब्रुअरी १४ तारेखमा डाट गरेर रेडियो कलर जोडिएको थियो ।

दोस्रो चरणको निषेधाज्ञामा उक्त बाघले धेरैपटक त्रिभुवन राजपथ वारपार गरेर निकुञ्जको पूर्वपश्चिम क्षेत्रमा आवागमन गरेको पाइयो । ‘निषेधाज्ञाअघि उक्त बाघ राजमार्ग पार गरेर निकुन्जको पश्चिम क्षेत्रमा एकपटक पनि आएको देखिएन,’ उनले भने, ‘तर, निषेधाज्ञामा राजमार्गमा सवारीसाधनको चाप घटेपछि एकदर्जन भन्दा बढी पटक आवागमन गरेको देखियो ।’ यसले बाघ मात्र नभई अन्य बन्यजन्तुको निर्वाध आवागमनमा पनि राजमार्गमा गुड्ने सवारीसाधनको अत्यधिक चापले धेरै अवरोध गरेको पुष्टि हुने उनले बताए । एक साताअघि उक्त बाघ निकुन्जको पश्चिमी भागबाट त्रिभुवन राजपथ पार गरेर बाराको रतनपुरीतर्फ लागेको देखिएको छ ।सामान्यतया एउटा बयस्क बाघले ५२/५३ वर्ग किमी क्षेत्रफलमा आवागमन गर्ने गरेको उनले बताए । करिब ४ वर्षअघि हल्खोरिया दह क्षेत्रसंगै बाराको राष्ट्रिय वनको ठूलो भाग गाभिएर आरक्ष निकुञ्जमा स्तरोन्नति भएपछि बिस्तारित क्षेत्रमा बाघको गतिविधि बढेको छ ।

कोषका प्रमुख संरक्षण अधिकृत डा. आशिष गुरुङले पर्सा निकुञ्जमा पहिलोपटक रेडियो कलर जडान गरेर बाघको गतिविधि निगरानी गरिएको बताए । ‘२ दशकअघि चितवन राष्ट्रिय निकुन्जमा यसरी बाघको गतिविधि अनुगमन गरिएको थियो,’ उनले भने, ‘पर्सामा भने पहिलो पटक नै हो ।’संरक्षण तथा वृद्धिका लागि गरिएको प्रयासका कारण निकुञ्जमा एक दशकमा बाघको संख्या झण्डै ४ गुणाले बढेको छ । सन् २००९/२०१० मा गरिएको गणनामा निकुञ्जमा केवल ४ बयस्क बाघ रहेकोमा हाल १९ पुगेको छ । संख्या वृद्धिसंगै बाघ आहाराको खोजीमा निकुञ्ज आसपासको राष्ट्रिय वनमा समेत प्रवेश गर्ने गरेको छ । गतबर्ष पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डमा कारको ठक्करबाट एउटा बाघ मरेको थियो । पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ बर्ग किमी क्षेत्रफलमा निकुञ्ज फैलिएको छ । यो निकुञ्ज जंगली हात्तीको पनि प्रमुख बासस्थान हो ।

(कान्तिपुर दैनिक)