एसईई उत्तीर्ण भए वनकरिया छात्र
News Desk
Aug-19 , 2021 तारिख 01:39 बेलुका

हेटौंडा — २ भाद्र २०७८

हेटौंडा, लोपोन्मुख वनकरिया समुदायका एक छात्रले एसईई उत्तीर्ण गरेका छन् । एसईई उत्तीर्ण हुने बनकरिया पुरुषमा अनिल पहिलो भएका छन् ।यसअघि उक्त समुदायबाट २ छात्राले भने एसईई उत्तीर्ण गरी जेटीए र अनमी बनिसकेका छन् । अनिलले मनहरी—४ स्थित पशुपति माविबाट यसै वर्ष ‘बी’ ग्रेडमा एसईई उत्तीर्ण भएका हुन् । एसर्ईई उत्तीर्ण भएपछि प्राविधिक विषय पढन रुची देखाएपनि उनको आर्थिक अवस्था भने अत्यन्त कमजोर छ । बाबु आमाले दैनिक ज्यालाबनी गरेर परिवार पाल्दै आएका छन् ।अनिलका ३ दाजुभाइ र चार दिदीबहिनी छन् । उनका २ बहिनी १० कक्षामा अध्ययनरत छन् ।

उनीहरूलाई पढ्नका लागि स्कुलले समेत सहयोग गर्दै आएको पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए । उक्त विद्यालयमा वनकरिया समुदायका ३३ बालबालिका अध्ययनरत छन् । जेटीए अध्ययनरत सन्तोषी वनकरियाले आफ्ना समुदायका बालबालिकालाई दैनिक २ घण्टा पढाउने गरेकी छन् । वनकरिया बस्तीका सबै बालबालिका अहिले स्कुल जाने गरेका छन् ।कोरोनाको कारणले गत वैशाखदेखि स्कुलमा पठनपाठन ठप्प छ । तर सन्तोषीले गाउँमा निरन्तर रूपमा पढाइरहेकी छन् । सन्तोषी र पम्फा वनकरियालाई एसईई उत्तीर्ण गरेपछि जेटीए र अनमी पढ्नका लागि दाताहरूले सहयोग गरेका थिए ।

‘अरूले सहयोग नगरे यहाँका अभिभावकले पढाउन सक्तैनन्,’ सन्तोषीले भनिन् । समुदायमा पुरुषभन्दा महिला सक्रिय र सक्षम छन् ।मनहरी—४ मुसेधापमा मात्र २० घरधुरी वनकरिया छन् । ४५ महिलासहित समुदायको जनसंख्या ८३ छ । उक्त समुदायको अन्य भागमा बसोबास छैन । जिल्ला वन कार्यालय हेटौंडाले उनीहरूलाई २०६२ चैत २८ मा कबुलियती वनको ९ हेक्टर जमिन उपलब्ध गराएको छ । त्यही जमिन खनीखोस्री गरेर उनीहरूले बाली लगाउँछन् । भूकम्पले भत्केको घरहरूको पुनर्निर्माण गर्न होस् वा उनीहरूलाई साक्षर बनाउन राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले सहयोग गरिरहेको छ ।२०६२ सालमा वनकरियाहरू धर्तीपुत्रहरू हुन् भनेर नागरिकता प्रदान गरिएको थियो ।

त्यसभन्दा अघि उनीहरूलाई नागरिकता दिएको थिएन । अहिले त्यही नागरिकताका आधारमा वनकरियाहरूले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । जन्मदर्ता गर्ने बित्तिकै वनकरिया जातिले मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् । २०६६ सालदेखि उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउन थालेका हुन् । सरकारले लोपोन्मुख वनकरियासहित १० जातिलाई राष्ट्रको मूलधारमा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको हो । 

(कान्तिपुर दैनिक)