अमेरिकाद्वारा अक्सिजन सहयोग
News Desk
Aug-19 , 2021 तारिख 02:31 बेलुका

काठमाडौँ— २ भाद्र २०७८ 

काठमाडौँ, अमेरिकाले वीर र परोपकार प्रसूति अस्पताललाई मंगलबार तरल अक्सिजन ट्यांक सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि थप सहयोग दिने क्रममा अमेरिकाले दुई अस्पताललाई दुई वटा तरल अक्सिजन ट्यांक सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्साडले काठमाडौंस्थित दुवै अस्पताललाई सहयोग हस्तान्तरण गरे । ‘यी तरल अक्सिजन प्रणाली अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन् र यिनले अक्सिजनको नियमित आपूर्ति गर्ने वा एक घण्टामा ४० लिटर क्षमताका लगभग ४० वटा सिलिन्डर भर्नेछन्,’ अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

‘यूएसएआईडीको सहयोगमा थप चार वटा तरल अक्सिजन ट्यांकहरू पनि जडान हुँदै छन् ।’अमेरिकाले मंगलबारै नेपाललाई यूएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलर बराबरको राहत सहायता प्रदान गर्ने घोषणा पनि गरेको छ ।अमेरिकी दूतावासका अनुसार उक्त थप रकम सहायताले पालिकामा निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ सुदृढ गर्ने, प्रयोगशाला प्रणालीहरूलाई टेवा पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्नेछ ।   

(कान्तिपुर दैनिक)