News Desk
लमजुङ — २ भाद्र २०७८
लमजुङ, गत माघ अन्तिम सातामात्रै हिमाली जिल्ला मनाङमा जडित विद्युत्को राष्ट्रिय प्रसारण लाइन बाढीपहिरोले क्षतविक्षत बनाएको छ । मर्स्याङ्दी नदी र आसपासका खोलामा असार १ र त्यसपछिको भीषण बाढीपहिरोले विद्युत्का पोल बगाउनुका साथै तारहरू चुँडाएको छ ।सदरमुकाम चामेदेखि भ्राताङसम्म राष्ट्रिय प्रसारण लाइन अहिले विद्युत्विहीन छ । लघु जलविद्युत्ले धानिरहेको मनाङमा लमजुङबाट ५ महिनाअघि मात्रै राष्ट्रिय प्रसारण लाइन निर्माण गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख इन्जिनियर मिलन सुवेदीका अनुसार लगातारको वर्षासँगै आएको बाढीपहिरोले मनाङलाई जोड्ने राधी हाइड्रो–स्यार्क्यु ३३ केभी प्रसारण लाइन क्षतविक्षत बनाएको छ । स्यार्क्यु–चामे ११ केभी र भित्रीभाग ४ सय भोल्टका पोल र तार क्षतविक्षत बनाएको छ । बाढीपहिरोका कारण १ करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सुवेदीका अनुसार ३३ केभी लाइनको ८ दशमलव ४ किलोमिटरको १ सय १६ पोलमा क्षति पुगेको छ । ५ दशमलव ६ किलोमिटरको ११ केभी लाइनको ८८ पोलमा क्षति पुगेको छ । ४ सय भोल्टको ५१ पोलमा क्षति पुगेको छ ।
‘बाढीपहिरोले सडक बगाइदिँदा पोल गाड्ने रुटको पहिचान हुन सकेको छैन’ सुवेदीका अनुसार बेंसीसहरदेखि तालसम्मको बाटो खुलेसँगै पोल, तार र अन्य निर्माण सामग्री व्यवस्थापन गरी ढुवानीका लागि प्रक्रिया अघि बढाइएको छ । ‘धमाधम काम भए एक महिनामा लाइन मर्मत गर्छौं’ उनले भने ।मनाङमा लमजुङको मर्स्याङ्दी–५, घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेशनबाट २९ किलोमिटर तार टाागेर ३३ केभी विद्युत् प्रसारण लाइन चामे–१ स्यार्क्युस्थित सबस्टेसनमा जडान गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले लघु जलविद्युत्बाट भोल्टेज कम आएपछि सुरुमा सदरमुकाम रहेको चामेमा विद्युत् वितरण गरिएको बताए । ‘प्रसारण लाइन आएपछि अस्पतालको मेसिन, प्रशासन, बैंक तथा विभिन्न कार्यालयको कम्प्युटरलगायत सामग्री राम्रोसँग चलेको थियो । यसअघिको लघु जलविद्युत्ले धानेको थिएन,’ उनले भने, ‘अहिले न केन्द्रीय प्रसारण लाइन छ, न जलविद्युत् नै । निकै गाह्रो परेको छ ।’
(कान्तिपुर दैनिक)