प्रदेश प्रयोगशालामा नसर्ने रोगको परीक्षण
News Desk
Aug-20 , 2021 तारिख 12:54 बेलुका

पोखरा — ४ भाद्र २०७८   

पोखरा, गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नसर्ने रोग प्रयोगशाला शाखा स्थापना गरेको छ । प्रयोगशालाले विभिन्न १९ प्रकारका परीक्षण गर्ने गरी आइतबारबाट सेवा सुरु गरेको हो । यसअघि प्रयोगशालाले कोभिड–१९ को मात्रै परीक्षण गर्दै आएको थियो ।शाखा स्थापनासँगै परीक्षणका लागि केही नमुना काठमाडौं पठाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जारी गरेको मूल्यसूचीबमोजिम हुने भएकोले पोखरामा रहेका निजी प्रयोगशालाभन्दा सस्तो दरमा प्रदेश प्रयोगशालाले परीक्षण गर्ने छ । नसर्ने रोग प्रयोगशाला शाखा प्रमुख भूपदेव भट्टका अनुसार फोलिक एसिडको परीक्षण सुविधा पोखराका अन्य प्रयोगशालामा यसअघि थिएन ।

विभिन्न प्रकारका क्यान्सर पत्ता लगाउने परीक्षण गर्दा निजी प्रयोगशालाले चर्को मूल्य लिँदै आएकोमा प्रदेश प्रयोगशालामा आधादेखि एक तिहाइ कम रकममा परीक्षण गर्न पाइन्छ । भिटामिन बी १२, भिटामिन डी, थाइराइड, टेस्टोस्टेरोन, प्रोल्याक्टिन, फेरिटिन, ट्युमर मार्कर, प्रोस्टेटेलगायत परीक्षण प्रयोगशालामा हुनेछन् । झन्डै एक करोड रुपैयाँ लगानीमा प्रयोगशालाका सामग्री जापानबाट ल्याइएको हो । पछिल्लो प्रविधिमा आधारित उपकरणले उत्कृष्ट नतिजा दिने भट्टले बताए । प्रदेश प्रयोगशाला हाल रामघाटस्थित भाडाको घरमा रहेको छ ।शाखा उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्य क्षेत्रलाई पूर्वाधारयुक्त बनाउन आफ्नो जोड रहने बताइन् ।

उनले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई आफ्नै भवनमा सार्न टेन्डर प्रक्रिया अघि बढिसकेको उल्लेख गरिन् ।मन्त्रालयका सचिव डा. विनोविन्दु शर्माले नसर्ने रोग परीक्षण शाखा स्थापना भएपछि आधारभूत वर्गले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.रामबहादुर केसीले हाल नसर्ने रोगबाट धेरैको ज्यान गइरहेको अवस्थामा नियमित स्वास्थ्य जाँच गरेर सर्वसाधारणले लाभ लिनुपर्ने जनाए ।प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले हाल १९ वटाबाट सुरु गरे पनि निकट भविष्यमै परीक्षणका प्रकार बढाउने बताइन् । भाडाको घरबाट आफ्नै घरमा सारेर सर्वसाधारणको पहुँचमा प्रयोगशालालाई पुर्‍याउनुपर्ने उनको जोड थियो ।

(कान्तिपुर दैनिक)