News Desk
सुनसरी — ४ भाद्र २०७८
नेपाल विद्युत् प्राधिकरण कोसी कोरिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत १ सय ६ किमिको पहिलो खण्डको आयोजना सम्पन्न भएको छ । प्राधिकरणका निर्देशक राजन ढकालका अनुसार सुनसरीको इनरुवा सबस्टेसनदेखि धनकुटा हुँदै संखुवासभाको तुम्लिङटारसम्म तयार भएको हो ।२ हजार मेगावटको प्रसारण लाइनमा ३ सय २६ वटा टावर तयार भएर विद्युत् प्रसारण पनि सुरु भएको छ । निर्देशक ढकालले भने, ‘कोसी कोरिडोर आसपासका नदीहरू अरुण र तमोर र सहायक नदीबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा समावेश गर्न यो प्रसारण लाइन तयार गरिएको हो ।’
उनका अनुसार कोसी कोरिडोरका आयोजनामध्ये ३० वटा आयोजनाका ६ सय मेगावाटको खरिद बिक्री सम्झौता भइसकेको छ । पहिलो खण्डको प्रसारण लाइन तयार भएपछि बुधबार मात्र खेर गएको २२ मेगावाट विद्युत् ३३ केभी प्रसारण लाइनमा आन्तरिक रूपमा समावेश गरेको ढकालले बताए ।‘सुनसरीको इनरुवास्थित सवस्टेसन तयार भएपछि २२० केभी प्रसारण लाइनमा समावेश गरिनेछ ।’ ढकालले भने । सन् २०१७ देखि प्रसारण लाइन विस्तार गर्न सुरु भए पनि निर्धारित समयभन्दा अगाडि नै पहिलो खण्डको काम सकेर अरुण र तमोर तथा सहायक नदीबाट उत्पादित साना ठूला विद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समावेश गर्न सफल भएको इन्जिनियर शत्रुघ्न यादवले बताए ।
अरुण र तमोर नदी तथा सहायक नदीहरूमा हालसम्ममा ६ सय मेगावाटको विद्युत् खरिद बिक्रीका लागि प्राधिकरणले सम्झौता गरिसकेको छ भने थप ५ सय मेगावाट खरिद बिक्रीका लागि सम्झौता प्रक्रियामा रहेको छ ।२७५ मेगावाटको अपर तमोर, ७५ मेगावाटको मिडिल तमोर, ५० मेगावाटको मेवा खोला, १५ मेगावाटको मैवा खेला विद्युत् आयोजनासहित सुपर सिक्स आयोजनाबाट उत्पादित विद्युत् २२० केभि प्रसारण लाइनमा समावेश हुनेछन् ।
(कान्तिपुर दैनिक)