News Desk
पर्सा — ४ भाद्र २०७८
पर्सा, प्रदेश सरकार मातहतका पर्सास्थित कार्यालयले गत आर्थिक वर्षको असारमा मात्रै विकास बजेटको झन्डै आधा हिस्सा खर्च गरेका छन् । ती कार्यालयहरूको कुल पुँजीगत बजेट २ अर्ब ५९ करोड ३४ लाख रहेकोमा असारमै १ अर्ब १४ करोड ८५ लाख खर्च गरेको प्रदेश लेखा इकाइ कार्यालय पर्साको तथ्यांक छ । वर्षभरिमा भने कुल बजेटमध्ये २ अर्ब १६ करोड १६ लाख रुपैयाँ खर्च गरेका छन् ।यो तथ्यांकले केन्द्रमा जस्तै प्रदेशमा पनि असार लागेपछि मात्र हतारहतारमा विकास निर्माणमा बजेट खर्च हुने प्रवृत्ति देखिएको छ । कतिपय कार्यालयले भने असारमा भुक्तानी धेरै भएकाले यस्तो देखिएको जनाएका छन् । पूर्वाधार विकास कार्यालय पर्साले गत आवमा १ अर्ब २४ करोड ५ लाख रुपैयाँ विकास बजेट पाएको थियो । त्यसमध्ये असारमा ६२ करोड ५६ लाख र वर्षभरि १ अर्ब १६ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले असारमै धेरै बजेट खर्च गरेको छ । कुल विकास बजेट १७ करोड ६८ लाखमध्ये असारमा ४ करोड ७८ लाख र वर्षभरि ८ करोड ३४ लाख रुपैयाँ खर्च गरेको तथ्यांक छ ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको गत आवमा पुँजीगत बजेट २८ करोड ९६ लाखमध्ये असारमा मात्रै १२ करोड ५७ लाख खर्च गरेको छ । वर्षभरिमा २० करोड ६४ लाख ५८ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा इकाइले जनाएको छ ।सहरी विकास तथा भवन कार्यालय पर्साको ६० करोड ८६ लाख पुँजीगत बजेटमध्ये असारमा मात्र २० करोड २८ लाख रुपैयाँ खर्च भएको छ । वार्षिक पुँजीगत बजेटमध्ये ५० करोड ८८ लाख रुपैयाँ यो कार्यालयले खर्च गर्न सक्यो । सामाजिक विकास इकाइ कार्यालय पर्साको वार्षिक पुँजीगत बजेट ११ करोड १४ लाख रुपैयाँ रहेकोमा उसले असार महिनामा कुल बजेटको आधाभन्दा बढी अर्थात् ६ करोड ७४ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । वार्षिक पुँजीगत बजेटमध्ये ७ करोड ५३ लाख रुपैयाँ मात्र यो कार्यालयले खर्च गर्न सक्यो ।
डिभिजन वन कार्यालयको गत आवमा पुँजीगत बजेट ८ करोड २८ लाख २४ हजार रुपैयाँ पाएको थियो । कार्यालयले असार महिनामा मात्र ४ करोड ९५ लाख रुपैयाँ र वर्षभरिमा ७ करोड ५५ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ । कृषि ज्ञान केन्द्र पर्साले पनि कुल पुँजीगत बजेट ३ करोड २३ लाख ५० हजारमध्ये असारमा १ करोड ५० लाख ८९ हजार र वर्षभरि २ करोड २६ लाख २४ हजार खर्च गरेको छ ।प्रदेश लेखा इकाइका सूचना अधिकृत विष्णु सुवेदीले आफ्नो कार्यालयले बजेट निकासाको काम मात्र गर्ने तर बजेट खर्च हुन सके नसकेको विषयमा सम्बन्धित कार्यालयहरूले नै जवाफ दिन सक्ने बताए ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख अरविन्दकुमार मिश्रले धेरै काम पहिले नै सुरु भएर असारमा सम्पन्न हुँदा पनि यही महिनामा बढी काम भएको देखिने गरेको जनाए । गत आर्थिक वर्षको हकमा भने असारमा प्रि–मनसुन बढी भएकाले धेरै काम गर्न नपाइएको उनले बताए । ‘कार्यालयको कामको प्रकृतिअनुसार मंसिर वा वैशाख/जेठमा मात्र काम गर्न सक्छौं, गत आर्थिक वर्षमा यी महिनामा कोरोना महामारी र वर्षाको कारण काम गर्न सकिएन,’ उनले भने, ‘त्यसबाहेक हामीले बजेट खर्च गर्न नसक्दा कार्यक्रम संशोधनको प्रयास पनि गरेकोमा त्यो सफल भएन, संघको ससर्त बजेटको ठूलो हिस्सा भने नचाहिने कामतर्फ खर्च हुन गयो ।’
(कान्तिपुर दैनिक)