शुक्लाफाँटामा पूर्वाधारको खाँचो
News Desk
Aug-20 , 2021 तारिख 03:12 बेलुका

कञ्चनपुर — ४ भाद्र २०७८

कञ्चनपुर, पर्याप्त सम्भावना भए पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको संख्या भने अझै बढ्न सकेको छैन । प्रयाप्त प्रचार प्रसार र पर्यटन पूर्वाधारको अभावका कारण यहाँ पर्यटक भित्रिन नसकेको धेरैको गुनासो छ ।पछिल्लो पटक कोरोनाले पनि पर्यटक आउने क्रम घटेको छ । शुक्लाफाँटा एउटै संरक्षित क्षेत्रमा धेरै वन्यजन्तु हेर्न सकिन्छ । यहाँ पर्यटकले एकै स्थानमा बाघ, गैंडा र बाह्रसिंगाको झुण्ड देख्न सक्छन् ।निकुञ्ज कार्यालयका अन्सुार गत आर्थिक वर्षमा ३ हजार पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्षमा १७ सय ७५ पर्यटकले अवलोकन गरेका थिए । त्यसभन्दा अगाडी ०७५/०७६ मा १२ हजार बढी पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

‘कोरोना संक्रमण र लकडाउनका कारण आन्तरिक पर्यटकको संख्या पनि निकै घटेको छ,’ बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा कार्यक्रमले अयोजना गरेको पर्यटन प्रबर्द्धन सम्बन्धी अन्तरक्रियामा प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले भने, ‘उस्तै पनि प्रचार प्रसार भौतिक पूर्वाधारको अभाव देखिन्छ ।’ कम क्षेत्रफलमा बढी बाघ भएको निकुञ्जका रुपमा यसलाई चिनिन्छ । आहारा प्रजातीका वन्यजन्तुको घनत्व पनि राम्रो छ ।निकुञ्जभित्र सफारीका लागि स्तरी बाटो निर्माण हुन सकेको छैन । सामान्य झरीमा पनि हिलो सवारी साधन चलाउनै मुश्किल हुने गरेको छ । यसबाहेक विभिन्न खोलाहरूमा पुलको अभाव देखिएको छ । यसतर्फ पनि निकुञ्ज प्रशासनले ध्यान दिनुपर्ने देखिन्छ । ‘हात्ती सफारीका लागि हात्तीको संख्या निकै कम छ,’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘हामीले विभाग र अन्य निकुञ्जमा पनि हात्ती माग गरिरहका छौं, तर कतैबाट पनि पाउन सकेका छैनौं ।’

अहिले निकुञ्जमा १० हात्तीको दरबन्दी छ । तर यहाँ ६ वटा हात्ती मात्रै छन् । ति मध्ये पनि १ बिरामी र १ बुढो भएका कारण सफारीमा प्रयोग गर्न सकिने अवस्था छैन । ‘निकुञ्ज भित्रको बाटोको स्तरोन्नति अति आवश्यक छ,’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘निकुञ्जको सबै क्षेत्रमा सहजै पुग्न सक्ने बाटो र खोला नालाहरूमा पुल निर्माण हुन सके यसको प्रचार प्रसार अझ बढ्न सक्छ ।’ उनका अनुसार जंगल सफारीका लागि शुक्लाफाँटा नेपालकै एक प्रमुख भ्रमण गन्तब्य भएपनि त्यसको प्रचार प्रसार हुन सकेको छैन । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँमा १६ बढी वयस्क बाघ छन् ।यसैगरि गत वर्ष गरिएको गणना अनुसार १७ वटा गैंडा छन् । यहाँ प्रमुख आकर्षण मानिने बाह्रसिंगाको संख्या २४ सय बढी छ । दक्षिण एशियाकै विशाल शुक्लाफाँटा घाँसे मैदानमा विश्वकै ठुलो बाह्रसिंगाको झुण्ड देख्न पाइन्छ । यसबाहेक अन्य वन्यजन्तु, चराचुरुंगी र घस्रिने जनावरहरू पनि यहाँ पर्याप्त मात्रामा देख्न पाइन्छ ।

 

‘यति कुरा भएर पनि हामीले प्रचार प्रसार गर्न नसक्दा सिजनमै निकुञ्ज क्षेत्र सुनसान हुन्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवबहादुर विष्टले भने, ‘हामीले थोरै भए पनि राजश्व तिरेर घुम्ने बानीको विकास गर्नु आवश्यक छ र त्यसमा गर्व गर्न सक्नुपर्छ ।’ गत वर्ष शुक्लाफँटासंग जोडिएका भारतका संरक्षित क्षेत्रमा गएर पनि यसको प्रचार प्रसार र संरक्षणका विषयमा छलफल भएको उनले बताए ।निकुञ्ज प्रशासन र शुक्लाफाँटा नेचर गाइड एशोसिएसनले पदमार्गका विषयमा पनि अध्ययन गरेको छ । निकुञ्जको पुर्वी क्षेत्र मालुमेलादेखि शुकलाफाँटा घाँसे मैदानसम्मको पदमार्ग राम्रो रहेको देखिएको छ । पहिलो दिन नै बाघ देखिएको र उक्त बाटो छोटो पनि भएकाले उपयुक्त देखिएको नेचर गाइड एशोसिएसनका अध्यक्ष वीरेन्द्र खातीले बताए । त्यसका लागि उक्त क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गरिन्पुर्ने उनले बताए । 

(कान्तिपुर दैनिक)