दूषित पानी पिउँदै बाढीपीडित
News Desk
Aug-20 , 2021 तारिख 03:18 बेलुका

सप्तरी — ४ भाद्र २०७८ 

सप्तरी , सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बरसाइनका बाढीपीडित दूषित पानी पिउन बाध्य छन् । खानेपानीका ट्युबवेलहरू बाढीमा डुबेकाले धमिलो पानी आएको र अन्य विकल्प नहुँदा त्यही पानी खानुपरेको स्थानीयले बताएका छन् ।गाउँपालिकाको मंसापुरस्थित जिता नदीको पश्चिमी तटबन्ध मंगलबार भत्किएपछि बरसाइनका १ सय ५० वटा घरमा पानी पसेको थियो । ६ वटा घर भत्किएका भए । स्थानीय महेन्द्र ठाकुरले पालिका वा अन्य कुनै निकायवाट बाढीपीडितको व्यवस्थापन नभएको बताए । बाढीपीडित राजोदेवीले मंगलबार दिउँसो र राति खाना खान नसकेकी गुनासो गरिन् ।‘मंगलबार बिहानैदेखि अबेर साँझसम्म चुलोमा पानी बगिरहेको थियो, दाउरा र गुइँठा पनि भिजेको छ, अन्न पनि भिजेर नष्ट भएको छ, के पकाएर, कसरी पकाएर खानु ?’ उनले भनिन्, ‘आंगनमा रहेको ट्युबवेलमा पनि धमिलो पानी आइरहेकोले त्यही खानुपर्ने स्थिति छ ।’ ट्युबवेलको मुखमा कपडा बाँधेर पानी छान्न खोज्दा हिलो मिसिएर आएको उनको भनाइ छ ।

बस्तीमा बाढी आएपछि गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, पालिकाका अन्य जनप्रतिनिधि र कर्मचारी निरीक्षण गर्न आए पनि खाना वा पानीका लागि बुधबार साँझसम्म कुनै व्यवस्थापन नगरेको बाढीपीडितहरूले बताए ।उनीहरूले खानेपानी व्यवस्थापन गर्न नसके पनि पानी शुद्धीकरणका लागि पीयूषलगायतका सामग्री तत्काल वितरण गर्नुपर्ने माग गरे । गाउँपालिकाका अध्यक्ष सिंहले बाढीपीडितहरूको तथ्यांक संकलन गर्ने कार्य नसकिएकाले केही वितरण गर्न नसकिएको बताए । उनले बिहीबार आवश्यक राहत सामग्री र खानेपानी शुद्धीकरण गर्ने औषधिहरू वितरण गर्ने जानकारी दिए ।  

(कान्तिपुर दैनिक)