वन विनाशमा संलग्नलाई कारबाहीमा बेवास्ता
News Desk
Aug-20 , 2021 तारिख 03:30 बेलुका

खोटाङ — ४ भाद्र २०७८ 

हलेसीगढी क्षेत्रको वन विनाशमा संलग्नलाई कारबाही गर्न बेवास्ता गरिएको स्थानीयले गुनासो गरेका छन् । हलेसी तुवाचुङ–५ दुर्छिमस्थित भन्डीडाँडा सामुदायिक वनक्षेत्रमा खेल मैदान बनाउन भन्दै वन मास्ने काममा संलग्नलाई कारबाही गर्नुको साटो मेलमिलापमा जान दबाब दिइएको स्थानीयको आरोप छ ।कारबाही गर्नुको साटो गैरकानुनी रूपमा मिल्न दबाब दिन थालिएको साबिक दुर्छिम गाविस अध्यक्ष कुबेर राईले दाबी गरे । सामुदायिक वन क्षेत्रमा खेल मैदान निर्माण गरिएको र यो सामूहिक काममा विरोध नगर्न सबडिभिजन वन कार्यालय हलेसीका सहायक वन अधिकृत रामसागर मण्डलले आफूलाई भनेको राईको भनाइ छ ।

‘हलेसीगढी क्षेत्रको सामुदायिक वन विनाश गर्नेलाई कारबाही गर्नुको साटो मिलेर जान अनुरोध भयो,’ राईले भने, ‘यस्तो गैरकानुनी कुरामा म कसरी मुछिन्छु ?’ऐतिहासिक हलेसीगढी क्षेत्रको वन विनाश गरेर खेल मैदान बनाउनुभन्दा त्यस क्षेत्रको संरक्षण गर्नु महत्त्वपूर्ण भएको बताउँछन् स्थानीयसमेत रहेका एमालेका जिल्ला नेता खडेन्द्र राई । यस्तो कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा उल्टो विनाश गरिएको भन्दै उनले असन्तुष्टि जनाए । सहायक वन अधिकृत मण्डलले भने कारबाही प्रक्रिया अघि बढिसकेको बताए । डिभिजन वन कार्यालय खोटाङका वन अधिकृत धनञ्जय लामिछानेले भने वन विनाश रोकिनु नै ठूलो कुरा भएको बताए ।

उनले उक्त कार्यमा संलग्न हुनेलाई विस्तारै कारबाही हुँदै जाने बताए । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई नै संलग्न भएकाले लामिछाने कारबाहीबाट तर्किन खोजेको स्थानीयको आरोप छ ।हलेसी तुवाचुङ नगरपालिकाले गत वैशाख १९ मा साविक दुर्छिम गाविस–१ को कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना एक पैसा, एक दाम वनक्षेत्रको जग्गामा खेल मैदान निर्माण गर्ने निर्णय गरेको थियो ।  

 (कान्तिपुर दैनिक)