News Desk
राजविराज — ४ भाद्र २०७८
राजविराज, सप्तकोसीमा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा बस्ती डुबानमा परेको छ । बिहीबार साँझदेखि कोसी उर्लंदा पुरानो बस्तीका ३०–३५ घरमा पानी पसेको हो । बाढीले दुईटा घर कटान गरेको छ ।घर डुबेपछि स्थानीय बासिन्दा विद्यालयमा आश्रय लिइरहेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । उनका अनुसार कोसीमा पानीको बहाब उच्च भएपछि ती घरमा १ देखि २ फिटसम्म पानी जमेको छ ।स्थानीय हरि यादव र शत्रुधन यादवको घर कोसीले कटान गरेको छ । अन्य घर पनि कटानमा पर्न लागेको साहले बताए ।
गोबरगाढामै रहेका हनुमाननगर–कंकालिनी नगरपालिका–१३ का वडाध्यक्ष बिन्देश्वर यादवले नयाँ त्यहाँको पुरानो बस्ती डुबानमा परेको जानकारी दिए । ‘स्थानीयलाई विद्यालयमा ल्याइएको छ,’ उनले भने, ‘अन्य घरसमेत कोसीको बाढीले कटान गर्न थालेको छ ।’सप्तकोसी नदीको मध्य भागमा रहेको गोबरगाढा बस्तीमा हरेक वर्ष बाढी पस्ने गरेको छ । नगरपालिकाले उक्त बस्ती नै सार्ने योजना ल्याउने गरे पनि स्थानीयले छाड्न मानेका छैनन् ।वडाध्यक्षको टोलीले अहिले डुबानमा परेका घर र क्षतिको विवरण संकलन गरिरहेको नगरप्रमुख साहले बताए । ‘स्थानीयका लागि आवश्यक प्रबन्ध मिलाउने तयारी भइरहेको छ,’ उनले भने ।
(कान्तिपुर दैनिक)