कोभिडका बिरामीलाई लक्षित गरी अमेरिकी वैज्ञानिकले दिए 'डाइटरी सप्लिमेन्ट'
News Desk
Aug-20 , 2021 तारिख 04:47 बेलुका

काठमाडौँ — ४ भाद्र २०७८   

काठमाडौँ, अमेरिकी वैज्ञानिक तथा खोजकर्ता डा. न्याथन ब्रायनले निर्माण गरेको डाइटरी सप्लिमेन्टको ठूलो मात्रा नेपाललाई सहयोगस्वरुप प्राप्त हुने भएको छ । उनले तयार गरेको यो सप्लीमेन्ट अमेरिकी बजारमा विगत १० वर्षदेखि प्रयोगमा रहेको छ । बिहीबार एक कार्यक्रमका बीच अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले वसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको दाबी गरिएको करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोतल नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई प्रदान गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै डा. न्याथनले यो सप्लिमेन्टले कोभिड-१९ मात्र नभई विभिन्न इन्फ्लूएञ्जाबाट बिरामीलाई गम्भीर हुनबाट रोक्नका लागि विशेष काम गर्ने दाबी गरे ।‘यो डाइटरी सप्लिमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने हुन्छ । दैनिक २ पटक दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँछ र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने काम गर्छ ’ डा. ब्रायनले दाबी गरे ।उनका अनुसार नाइट्रिक अक्साइड प्राकृतिक रुपमा शरीरभित्र उत्पादन हुने र शरीरलाई चाहिने एक महत्वपूर्ण पदार्थ हो । यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्दछ ।

उनले कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपालजस्तो मुलुकका लागि प्रयोग भइरहेको डाइटरी सप्लिमेन्ट काम लाग्न सक्छ भन्ने लागेर नेपालमा पनि ल्याउन लागिएको हो ।कार्यक्रममा बोल्दै नर्भिक इन्टरनेशनल अस्पतालका संस्थापक वसन्तकुमार चौधरीले नेपाल सरकारसँग समन्वय गरी अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने सप्लिमेन्ट कोभिड संक्रमितलाई वितरणको व्यवस्था मिलाइने जनाए ।चौधरीका अनुसार यो डाइटरी सप्लिमेन्ट भएकाले प्रयोगका लागि औषधी व्यवस्था विभागसँग अनुमति लिन पर्दैन ।

 

यद्यपी २००६ मा विश्व विख्यात मेडिकल जर्नल 'जामा'मा प्रकाशित अध्ययन रिपोर्ट अनुसार न्याइट्रिक अक्साइड डाइटरी सप्लिमेन्टमा हुने तत्त्वले एकपटक हृदयघात भइसकेका व्यक्तिमा पुन: हृदयघात हुने सम्भावना बढाउँछ । यस्तै मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीले पनि यो सेवन गर्नु हानिकारक हुनसक्छ ।नाइट्रिक अक्साइडसँग सम्बन्धित २० वर्षदेखि संलग्न अमेरिकी खोजकर्ता तथा वैज्ञानिक डा. न्याथन एस ब्रायनले कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको ‘नोभिरिसिड’ नामको औषधि बनाएका छन् । अमेरिकामा यो औषधिको तेस्रो चरणको क्लिीकल ट्रायल चलिरहेको छ । उता सफल परीक्षण भए नेपालमा पनि ट्रायल गर्न सकिने उनले जनाए ।   

(कान्तिपुर दैनिक)