News Desk
मोरङ — ६ भाद्र २०७८
मोरङ, वन संरक्षण गर्नुपर्ने निकायले नै बन विनाशमा उत्रियो भयो भने के होला ? अहिले त्यस्तै भएको छ, बेलबारी–११ स्थित लक्ष्मी सामुदायिक वन भित्र । यहाँको वन उपभोक्ता समितिले नै अवैध रूपमा हरियो रूख कटान गरेको छ । सामुदायिक वनभित्र रहेको किरात धर्म संरक्षण समितिको धार्मिक वनभित्रको विभिन्न प्रजातिका १४ वटा हरियो रूख काटिएको हो । सामुदायिक वन उपभोक्ता समितिले निर्णय गरी आर्थिक वर्ष २०६१/६२ मा किरात धर्म संरक्षण समितिलाई हकभोगका लागि सामुदायिक वनभित्रको १५ कठ्ठा क्षेत्रको हक हस्तान्तरण गरेको हो । घेराबेरा गरी दुःखले हुर्काएका टिकको ९, मसला ३, सिसौ २ वटा गरी कुल १४ वटा अग्ला हरियो रूख सामुदायिक वनले नै अवैध रुपमा कटान गरेको धर्म संरक्षण समितिका उपाध्यक्ष प्रेमकुमार राईले आरोप लगाएका छन् ।
‘साउन ४ गते धार्मिक वनभित्र ट्याक्टरसहित आएका ६ जना मजदुरले रूख काट्दै गरेको अवस्थामा संरक्षण समितिका पूजारी शेरमान लिम्बू र सचिवले देखेपछि समितिका अन्य सदस्यलाई खबर गरे,’ उनले भने, ‘त्यसपछि गएर मजदुरहरूलाई सोधपुछ गर्दा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमको आदेशमा रूखहरू कटान गरेको बताए ।’समितिका अध्यक्षले नै रूख काट्न आदेश दिएको कुरा आएपछि सबै रूखको भिडियो खिचेर अध्यक्ष गौतमलाई सम्पर्क गरेको उपाध्यक्ष राईले बताए । ‘अध्यक्ष गौतमले सवडिभिजन वन कार्यालय बेलबारीबाट प्रक्रिया पूरा गरेर रूख कटान गरिरहेको जवाफ दिनुभयो,’ उनले भने, ‘त्यसपछि हामी सवडिभिजन वन कार्यालयमा जाँदा रूख कटानका लागि कसैलाई पनि कुनै किसिमको अनुमति नदिएको जानकारी प्राप्त भयो ।’ अध्यक्ष गौतमले सामुदायिक वनका भुईँमा सुत्ने उपभोक्ताका लागि ‘भुईँबाट उठाउने अभियान’ सञ्चालन गर्न रूख कटान गरी खाट बितरण गर्दै आएको र उक्त रूखबाट पनि २२ वटा खाट बनाएर उपभोक्तालाई बितरण गरिएको अध्यक्ष गौतमले जवाफ दिएको राईले बताए ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गौतमले कानुनी प्रक्रिया नै पूरा नगरी धार्मिक वनभित्रको रूख अबैध रुपमा कटान गरेको भन्दै सवडिभिजन वन कार्यालय बेलबारीमा उजुरी दिनुका साथै जिल्ला डिभिजन वन कार्यालयमा समेत जानकारी गराएको संरक्षण समितिका सचिव दिपक राईले बताए ।‘एकातिर दुःखले हुर्काएका मोटो र अग्लो हरियो रूख सामुदायिक वन उपभोक्ता समितिले कानुनविपरित कटान गरेको छ भने अर्कोतिर किरात धर्म संरक्षण समितिमा आक्रमण गरी वन विनास गर्ने काम भएको छ,’ उनले भने, ‘धार्मिक वनभित्र हुर्केको रूखमा सामुदायिक वन उपभोक्ता समितिको आँखा लागेकोले रूख काट्ने क्रममा घेराबेराका लागि लगाइएको तारजाली समेत भत्काएका छन् ।’ डिभिजन वनमा उजुरी दिए पनि हालसम्म दोषीलाई कुनै किसिमको कारबाही नभएको र अध्यक्ष गौतमलाई संरक्षण गर्ने काम भइरहेको राईले गुनासो पोखे । अध्यक्ष गौतमले आफू काठमाडौं गएको बेलामा धार्मिक वनभित्र चोरी निकासीका लागि रूख कटान भएको सूचना पाएकोले ट्याक्टर पठाएर ल्याउन लगाई घाटगड्डीमा राखेको दावी गरे । उनले करिब ५० क्यूबिक फिट काठ घाटगड्डीमा रहेको स्विकारे । तर संरक्षण समितिका अध्यक्ष शेरमान लिम्बूले १४ वटा मोटा र अग्ला रूखबाट ७ सयभन्दा बढी क्यूबिक फिट काठ निस्किने सुनाए ।
सवडिभिजन वन कार्यालय बेलबारीका प्रमुख सहायक वन अधिकृत दिपेश मिश्रले धार्मिक वनभित्र अबैध रुपमा रूख कटान भएको उजुरी आएपछि रेन्जर राजेन्द्र घिमिरेको नेतृत्वमा अनुसन्धान भइरहेको बताए । ‘सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीलगायतसँग बयान लिने काम सकिएको छ,’ उनले भने, ‘संरक्षण समितिले रूख कटानको भिडियोसमेत उपलब्ध गराएकोले अनुसन्धान अन्तिम चरणमा पुगेको र अब चाँडै ट्र्याक्टर र रूख काट्ने मजदुरहरूलाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दर्ता प्रक्रियामा जान्छौं ।’संरक्षण समितिले समितिका अध्यक्ष गौतमलाई सवडिभिजन वनले पक्राउ नगरी संरक्षण गर्दै आएको आरोप लगाएको छ । सहायक वन अधिकृत मिश्रले कसैलाई जोगाउने र कसैलाई फसाउने काम कानुनले गर्न नमिल्ने हुँदा रूख काट्ने मजदुरहरूले दिएको बयानका आधारमा थप दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाए ।
(कान्तिपुर दैनिक)