News Desk
काठमाडौँ — ७ भाद्र २०७८
काठमाडौँ, भाद्र कृष्णपक्ष परेवाको दिन गाईजात्रा मान्ने चलन छ । नेपाल भाषामा गाईजात्रालाई ‘सापारु’ भनिन्छ । यो गुंपुन्हिको भोलिपल्ट परेवाको दिनमा पर्छ, त्यसैले यो सापारु भयो । काठमाडौंमा वर्सेनि यसलाई ठूलो पर्वको रूपमा मनाउँदै आएको छ ।मृतकलाई स्वर्गमा बास मिलोस् भन्ने कामनासहित गाईजात्रा मनाउने गरिन्छ । यस दिन काठमाडौंका अधिकांश नेवार जातिले वर्षदिन भित्र आफ्नो परिवारमा दिवंगत आफन्तको नाममा गाई घुमाउने चलन चलिआएको छ ।विश्वास के गरिन्छ भने आजकै दिन भाद्र कृष्णपक्ष परेवामा मात्र यमराजको स्वर्गको एउटा ढोका पूरा खोल्ने हुन्छ । त्यसैले यही दिन वर्षभरी मरेका स्वर्गभित्र प्रवेश गर्न पाउने हुन्छन् । अनि यमलोकसम्म पुग्न वैतरिणी नदी तर्नु पर्ने हुन्छ । गाईसँग नदी तर्यो भने पनि सजिलै यमलोक पुगिने विश्वास पनि छ । त्यति मात्र होइन्, गाईले आफ्नो सिंगले ढोका ढकेलेर भए पनि दिवंगतलाई स्वर्गमा छिराइदिन मदत गर्ने विश्वास समेत रहेको छ ।
यो पर्वसँग ठ्याक्कै जोडिएर आउने नाम हो, राजा प्रताप मल्ल । त्यसो त गाईजात्रा मनाउने चलन धेरै अगाडिदेखि काठमाडौंमा सुरु भइसकेको मानिन्छ, सम्भवत: लिच्छवी कालमै । तर प्राय: प्रताप मल्लको नाम दोहराएर आउने गर्छ । उनको राज्यकालमै छोरा चक्रमवर्तेन्द मल्लको निधन भएको थियो, यसले रानीलाई ठूलो शोक भयो र धेरै विलाप गरिन । तिनै रानीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरी बनाइदिए र यसका लागि विभिन्न तीर्थबाट पानी ल्याइएको थियो ।त्यतिले पनि रानीको चित्त बुझेन । त्यसैले रानीको छोरा मात्र मरेका होइनन्, जनताका छोराछारी पनि मर्छन् भनेर देखाउन ती सबैका परिवारलाई राजदरबारमा उपस्थित हुन आदेश दिए । यसैबाट पछि गाईजात्राको परम्परा सुरु भयो । यसपछि रानीले पनि थाहा पाइन्, आफ्नो मात्र छोरा होइन्, साँच्चै जनताका छोराछारीको पनि निधन हुने रहेछ । त्यसैले संस्कृतिविद् चुन्दा वज्राचार्यले ठीकै लेखेकी छिन्, 'यो पर्वको सन्देश हो, सबैलाई मर्नु छ, कोही पहिले मर्छन्, केही पछि ।'
गाईजात्रा मनाउन प्रयोग हुने बाटो अलगै छन् र यो लगभग इन्द्रजात्राका बेला कुमारीको रथयात्रा चलाउने बाटो नै हो । सबैको घर यही बाटोमा पर्ने पनि हुन्न, त्यसैले आफ्नो घरबाट निस्केर यो बाटोलाई कुनै न कुनै मोडमा छुने गर्छन् । जहाँबाट जात्रा सुरु हुन्छ, त्यो परिवारका लागि एक चक्र पूरा गरेर फेरि त्यही स्थानमा पुगेपछि यात्रा टुंगिन्छ । गाईजात्रा नेवार जातिले निकाल्ने भएपनि यो सबै स्थानमा समान छैन्, काठमाडौंसँग ललितपुर, भक्तपुर र कीर्तिपुरका परम्परा मिल्दैनन् ।विशेषत: भक्तपुरमा गाईजात्रा निकाल्दा देशको समसामाजिक विषयमा व्यंग गर्दै ‘ख्याल:’ निकाल्ने चलन पनि छ । ‘ख्याल:’ अर्थात व्यंग । सुरुमा यो सांस्कृतिक व्यंगमा सीमित थियो, पछि यसले राजनीतिक व्यंगको रूप लियो । पछि गएर गाईजात्रा आफैमा हाँसो, ठट्टा र व्यंगको पर्व समेत बन्यो । काठमाडौं उपत्यकाका मुख्य: पेशा कृषि रहेको र यो समय रोपाई सकेर आराम गर्ने बेला समेत भएकोले यही बेला हाँसो, ठट्टा गर्ने चलन सुरु भएको पनि मानिन्छ ।
(कान्तिपुर दैनिक)