News Desk
बागलुङ — ७ भाद्र २०७८
बागलुङ, निषेधाज्ञाको समय र कोरोना कहरका बीच ढोरपाटनमा सयौं मानिस जम्मा भएर मेला भरेका छन् । जनैपूर्णिमाको दिन ढोरपाटनस्थित ढोरबराह मन्दिरमा पूजा गर्दा आँटेताकेको पुग्ने विश्वास छ ।त्यसैले कोरोना कहर र गत वर्षदेखि जीर्ण सडक छिचोल्दै सयौं मानिस ढोरपाटन पुगेका थिए । बुर्तिबाङदेखि ढोरपाटन जाने सडक गत वर्षको पहिरोले जीर्ण छ ।जोखिम मोलेरै धेरै मानिस आइतबार मन्दिर पुगेर पूजा गरेको स्थानीय शिक्षक यामबहादुर कायतले बताए । जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा बागलुङ, म्याग्दी र रुकुमसहितका अन्य छिमेकी जिल्लाबाट भक्तजन पुग्ने गर्छन् । यहाँ पूर्णिमाको दिन भेडा, कुखुरा, हाँस, बोका र राँगा गरी सयौं बलि दिने चलन छ । आइतबार ३ सय ७० भेडाको मात्रै बलि परेको स्थानीय अरुण घर्तीले जानकारी दिए ।
कुखुरा, हाँस र राँगाको भने कति बलि दिइयो भन्ने संख्या यकिन नभएको उनले बताए । ढोरबराहको पूजा गरेर भोग चढाएपछि सुरक्षा र सहकाल आउने यहाँका मानिसमा विश्वास छ । बराह अवतारको स्वरूप भएकाले दर्शन गर्दा साक्षत् भगवान्को दर्शन पाइनेसमेत स्थानीयमा विश्वास छ । यहाँ पूजा गरेर भजन गाउने, नाच्ने र आफन्त भेट्ने अवसरका रूपमा जनैपूर्णिमालाई लिने गरिन्छ ।नेपाल सरकार र प्रदेश सरकारले नदिएको वर्ष पनि ढोरपाटन नगरपालिकाले मेलाका लागि बिदा दिएको थियो । यहाँका २२ धाराबाट झरेको पानी उत्तर बगेकाले उत्तरगंगा भनिन्छ । यो उत्तरगंगा ढोरपाटनबाट बगेर रुकुम हुँदै कर्णालीमा पुगेको छ । उत्तरगंगा जलविद्युत् आयोजनासमेत यही पानीबाट निकाल्ने तयारी छ । \
(कान्तिपुर दैनिक)