News Desk
सर्लाही — ७ भाद्र २०७८
बसबरिया गाउँपालिकाका कर्मचारीले आफूहरूमाथि दुर्व्यवहार गरिएको भन्दै बिहीबारदेखि काम बन्द गरेका छन् । पालिका प्रमुखको रिस साध्न फरक पार्टीका नेता तथा कार्यकर्ताले दुर्व्यवहार गरेको उनीहरूको आरोप छ । कर्मचारीका अनुसार बुधबार बसबरिया–१ मानपुरका रामविश्वास राय, वडा ३ का चनु राय, उदय रायसहितको समूहले कार्यकक्षमै दुर्व्यवहार गरेका हुन् । नेकपा माओवादी केन्द्रको झण्डा बोकेर नाराबाजीसहित रायसहितको टोली कार्यालयमा प्रवेश गरेको थियो । गाउँपालिकाको उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झा, उद्यम विकास सहजकर्ता राश नारायण राय र राकेश कुमार यादव, सुचना प्रविधि अधिकृत सुजित कुमार कर्ण, पञ्जिकरण शाखाका प्रमुख राजिव कुमार यादव, फिल्ड सहायक संजय कुमार पण्डित लगायतका कर्मचारीमाथि दुर्व्यवहार भएको गाउँपालिकाले जनाएको छ ।
कर्मचारीको बैठकले शान्तिपूर्वक काम गर्ने वातावरण नबनेसम्म कार्यालयको सम्पूर्ण काम बन्द राख्ने निर्णय गरेको छ ।उद्यम विकास शाखाका फोकल पर्सन झाले कार्यकक्षमा बसेर काम गरिरहेको अवस्थामा आफूलाई एक्कासि तानेर बाहिर निकालिएको गुनासो गरे । त्यस क्रममा आफूले लगाएको सर्ट समेत च्यातेको उनले बताए । ‘काम गर्ने स्थानमै हामी माथी दुर्व्यवहार भएको छ, सुरक्षाको प्रत्याभूति हुँदैन भने काम गर्न सकिन्न,’ उनले भने ।बासबरिया गाउँपालिकाका प्रमुख राम अयोध्या रायले प्रमुख प्रशासकीय अधिकृतसहित आफू सदरमुकाम मलंगवाको एक कार्यक्रममा उपस्थित भएको बेला माओवादीका नेता तथा कार्यकर्ताले दुर्व्यवहार गरेको जनााए ।
उनले कुनै त्रुटी अथवा काम कारबाही र सेवामा चित्त नबुझे कार्यालय प्रमुख अथवा पालिका प्रमुखसँग जानकारी लिनुपर्नेमा दुर्व्यवहार गरेर तर्साउने काम भएको बताए ।दुर्व्यवहार आरोप लागेका नेकपा माओबादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षको प्रत्याशीसमेत रहेका रामविश्वास रायले भने पटक–पटक हिसाब माग्दा पनि नदिएकाले बुधबार कर्मचारीहरूलाई बाहिर निकालेर कार्यालयमा तालाबन्दी गरेको जानकारी दिए । कर्मचारीहरूले शुक्रबार जिल्ला प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई गुनासो राख्दै सुरक्षाको प्रत्याभूति नहुन्जेल काममा फर्किन नसकिने जनाएका छन् ।
(कान्तिपुर दैनिक)