News Desk
लुम्बिनी — बुटवलको चिडियाखोलादेखि भैरहवाको बेलहिया नाका जोड्न १० वर्षअघि निर्माण थालिएको ६ लेन व्यापारिक मार्ग निर्माण पूरा भएको छैन । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तारअन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला सडक खण्ड विस्तार अलपत्र परेको छ ।सडक विस्तारका लागि यस खण्डमा पर्ने घर भत्काएको लामो समय भइसक्दासमेत निर्माणको काम हुन सकेको छैन । आर्थिक वर्ष २०६८/६९ बाट व्यापारिक मार्ग निर्माण थालिएको हो ।यस अवधिमा चौराहादेखि भैरहवासम्म मुख्य सडक निर्माण भएको छ ।
यस खण्डअन्तर्गत विभिन्न स्थानमा सहायक मार्ग र नाला निर्माण भने अधुरै छन् । ठूलो सहर बुटवलको मुख्य र व्यस्त राजमार्ग चौराहादेखि चिडियाखोलासम्म ३.५ किलोमिटर खण्डको बिजोग छ । सडक विभागले घर भत्काएर काम नथाल्दा यात्रुलाई कष्ट भएको छ । स्थानीय व्यवसायीले व्यापार प्रभावित भएको गुनासो गरेका छन् ।तीन वर्षभित्र सक्ने गरी काम थालिएको सडकको निर्माण कहिले पूरा हुन्छ, पत्तो छैन । यही सडकले रूपन्देहीको बेलहिया–सुनौली नाकालाई पूर्व–पश्चिम राजमार्गसित बुटवलमा जोड्छ । अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि दक्षिण बेलहिया नाका नजिकसम्म निर्माण पूरा भएको छ । बेलहिया नाकादेखि बाइपाससम्म ७ सय ५० मिटर सडक खण्ड अलपत्र छ ।
बुटवलको चौराहाबाट उत्तर चिडिया खोलासम्म सडक कुरूप बनेको छ । समयमै काम पूरा नहुँदा निर्माण सकिएको सडक भत्किन थालेको छ । मुलुकको दोस्रो ठूलो भन्सार बेलहिया नाकालाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने ६ लेन सडकमा क्षमताभन्दा बढी भारवाहक गाडी गुडाउँदा बारम्बार भत्किएर मर्मत गर्नुपरेको आयोजनाले जनाएको छ । ५० टन भार वहन क्षमता आधारमा निर्माण भइरहेको सडकमा १ सय टन भारसहितका गाडी गुडाउने गरेकाले बनिनसक्दै भत्किने गरेको आयोजनाको दाबी छ ।पहिले ३ वर्ष स्थानीयको अवरोधले राजमार्ग चौराहादेखि चिडियाखोलाको काम गर्न नसकिएको बुटवल–बेलहिया सडक आयोजना प्रमुख जयलाल मरासिनीले बताए । गत फागुनयता ठेकेदारले कोरोनाको कारण देखाई काम रोकेपछि पुनः समस्या भए पनि अहिले काम सुरु भएको उनको भनाइ छ । ‘साउनयता वर्षा चलिरहेको छ,’ उनले भने, ‘नाली बनाउने र खाल्डाखुल्डी पुरेर सम्याउने काम भइरहेको छ ।’
अहिले चौराहा र पुष्पलाल पार्कको राउन्डेबल सडकमा ग्राभेल गर्ने काम भइरहेको उनको भनाइ छ । चौराहादेखि चिडियाखोलासम्म कुल ४७ करोड २७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त सडक खण्डको तीनपटकसम्म म्याद थप भइसकेको छ । २०७३ चैत १७ मा ठेक्का सम्झौता भएपछि २०७६ असोज १२ मा सक्नुपर्ने गरी तय भएको थियो । काम नसकिएपछि पहिलो म्याद २०७७ जेठ २ गते सक्नुपर्ने सम्झौता भए पनि निर्माणले गति लिन सकेन । पुनः दोस्रोपटक २०७९ असार मसान्तमा सक्ने गरी म्याद थप भएको आयोजनाकी इन्जिनियर शुभेच्छा सारुले बताइन् । उनका अनुसार निर्माणको ठेक्का लिएको द कञ्चनजंघा बिरुवा जेभीले पेस्कीस्वरूप मर्मतका लागि ८ करोड २६ लाख रुपैयाँ बुझिसकेको छ ।
निर्माण सम्पन्न भइसकेको भैरहवादेखि बेलहियासम्म धेरै ठाउँमा सडक बिग्रिएको छ । भारतबाट सडकको क्षमताभन्दा बढी भारवहनका गाडी भित्रिँदा सडक कतै भासिने, कतै उबडखाबड भएको छ । प्रदेशकै आर्थिक ढोकाका रूपमा हेरिएको आयोजना पूरा नहुँदा निजी क्षेत्र रुष्ट छ । कुनै वैकल्पिक व्यवस्था गर्न नदिएर कोरोना कहरको समयमा पेसा व्यवसायबाट विस्थापित हुने गरी घर भत्काउने काम भए पनि सडक निर्माणको काम भने अलपत्र पारिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीको भनाइ छ ।
(कान्तिपुर दैनिक)