लुम्बिनीमा भेटीको बिजोग
News Desk
Aug-24 , 2021 तारिख 01:46 बेलुका

भैरहवा — ८ भाद्र २०७८  

भैरहवा, मायादेवी मन्दिरभित्र गौतम बुद्ध जन्मस्थलमा राखिएको शिलापत्र वरिपरि विभिन्न मुलुकका मुद्रा असरल्ल छन् । भुइँमा पानी जमेको छ । सिक्का टल्किएका छन्, नोटहरू भिजेका छन् । केही नोट इँटाको पुरातात्त्विक भग्नावशेषमाथि कपडामा सुकाइएको छ भने धेरै भुइँमा छरपस्ट छन् ।धेरै नोटहरू पानीले भिजेर रङ खुइलिएजस्तो, ओसिएर मक्किएका जस्ता देखिन्छन् । घुम्न पुगेकाहरू यहाँ श्रद्धालुले गरेको दानको पैसा जतन नभएको देखेर अनौठो मान्छन् ।

भेटी व्यवस्थापनमा लुम्बिनी विकास कोषले चासो दिएको देखिँदैन । ‘दानस्वरूप चढाइएका पैसा बटुलेर जतन गर्ने अधिकार हामीलाई छैन,’ मन्दिरभित्र खटिएका एक सुरक्षाकर्मीले भने, ‘भेटी व्यवस्थापनका लागि कोषको लेखा शाखाका कर्मचारी आउनुपर्छ । सबैको रोहवरमा मात्रै अन्यत्र लैजान मिल्छ ।’ भिजेका नोट कुहिन नदिन इँटामाथि कपडामा सुकाएको उनले बताए ।भेटी व्यवस्थापन गर्न कोषसँग कर्मचारी नै नभएका भने होइनन् । विभिन्न कालखण्डमा कोषको अध्यक्ष बनेका, विभागीय मन्त्री तथा कोष पदाधिकारीले आफ्ना नजिकका र अनुकूलका व्यक्तिलाई जागिर खुवाउन कोषलाई ‘भर्ती केन्द्र’ का रूपमा उपयोग गर्दै आएका छन् ।

 

तर भेटी व्यवस्थापनमा किन कर्मचारी नखटिएका ? ‘कोभिडका कारण निषेधाज्ञा भएसँगै यस्तो भएको हो । मायादेवी मन्दिर पनि बन्द गरिएको थियो । त्यसअघि चढाइएका मुद्रा झिकेर व्यवस्थापन गर्न सकिएन,’ कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले भने, ‘बन्द रहेको मन्दिर त्यत्तिकै खोल्न मिल्दैन । सुरक्षा निकायसहितको सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।’ कोषले भेटी व्यवस्थापन गर्न खोजे पनि विभिन्न कारणले ढिलाइ भएको उनले सुनाए ।मन्दिर परिसरमा राखिएका दानपत्र अन्तिम पटक गत माघमा खोलिएको थियो । पछिल्लोपटक वैशाख १६ देखि भएको निषेधाज्ञापछि बन्द मन्दिर खुलेको एक साता भएको छ । श्रद्धालुले चढाएका विदेशी मुद्रा पनि कोषको एउटा कोठाभित्र वर्षौंदेखि थन्किएका छन् । दानस्वरूप चढाएका नोट पनि नेपाल राष्ट्र बैंकले विनिमय नगर्ने मुलुकका धेरै भएकाले करोडौं विदेशी मुद्रा उपयोगमा आउन सकेको छैन । १९ करोडभन्दा बढीको यस्ता विदेशी मुद्रालाई कसरी उपयोगमा ल्याउने भन्नेबारे वर्षौंअघि पत्राचार गरिए पनि अहिलेसम्म कुनै टुंगो नलागेको शाक्यले बताए ।

२०४२ सालमा लुम्बिनी विकास कोष गठन भएदेखि नै विदेशी मुद्रा संकलन हुँदै आएको छ । ‘पुराना नोटलाई थप क्षति हुन नदिन हावा नपस्ने गरी प्लास्टिकले बेरेर कपडामा लपेटेर राखिएको छ,’ उनले भने, ‘यसबारे मैले दुई–तीन चरणमा नेपाल राष्ट्र बैंकसमक्ष कुरा राखेको छु ।’ राष्ट्र बैंकले सिंगापुरमा रहेको बैंकमा सटहीका लागि ती मुद्रा लैजाने तर सटही हुन नसके फिर्ता नआउने जानकारी दिएपछि अन्योल रहेको उनले बताए ।यसैगरी मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भको नियमित सरसफाइ र संरक्षणमा ध्यान पुग्न सकेको देखिँदैन । विश्वभर नै लुम्बिनीको पहिचान दिलाउने यो स्तम्भ खिइँदै गएको छ । दुई दिनअघिसम्म अशोक स्तम्भ परिसर कुरूप थियो । स्तम्भ परिसरभित्र खीर, पुरी तरकारी यत्रतत्र थिए । नानाथरीका पोसाक, खौरिएको कपाल, प्लास्टिकका थाल, कचौरालगायत फोहरको थुप्रो र भेटीस्वरूप चढाइएका भिजेका रुपैयाँ स्तम्भको चारैतिर छरिएका छन् ।

लुम्बिनीका लागि अशोक स्तम्भले ठूलो महत्त्व राख्ने भएकाले यसको संरक्षणमा लुम्बिनी विकास कोष, सरकारलगायत सबै पक्ष उत्तिकै सजग र संवेदनशील बन्नुपर्ने शोधकर्ता गीता शर्माले बताइन् । उनका अनुसार ब्राह्मी लिपिमा अशोक स्तम्भमा उल्लेख गरिएको ९० वटा अक्षर, २६ वटा शब्द र साढे चार लाइनको वाक्यांशका कारण नै लुम्बिनी र बुद्धको जन्मस्थल पत्ता लागेको हो । ‘अशोक स्तम्भमा लेखिएका अक्षर र वाक्यांशले ठूलो महत्त्व राख्छ,’ उनले भनिन्, ‘यदि स्तम्भमा लेखिएका ती अक्षर हुँदैनथे भने अहिले पनि हामी बुद्ध जन्मस्थलको खोजीमा हुने थियौं ।’

अशोक स्तम्भछेउमा बच्चाको मुण्डन गरेको कपाल, कपडा, प्रसादका रूपमा विभिन्न खानेकुरा चढाउने परम्परा रहेकाले रोक लगाउन नसकिने कोषाध्यक्ष शाक्यले बताए । ‘कहिलेकाहीं त कपाल, कपडा, प्रसादका रूपमा खानेकुरा चढाउनेको मेलाजस्तै लाग्छ,’ उनले भने, ‘तर, हामीले दैनिक रूपमा सरसफाइ गर्ने गरेका छौं ।’ कोषका सदस्य सचिव सानुराजा शाक्यले पनि नियमित रूपमा सफा गरिने दाबी गरे । विभिन्न समयमा स्वदेशी तथा विदेशी विज्ञले गरेका अनुसन्धानमा विभिन्न रसायनका कारण स्तम्भ खिइँदै गएको देखिएको कोषका पूर्वपुरातत्त्व शाखा प्रमुख वसन्त बिडारीले बताए ।

‘स्थानीय र जनप्रतिनिधिसँग यसबारे छलफल गरेर परम्परा पनि कायम रहने र स्तम्भमा पनि असर नपर्ने गरी समाधानको बाटो निकाल्न सकिन्छ,’ बिडारीले भने, ‘तर, यसबारे कोषका पदाधिकारीले स्थानीयसँग समन्वय र पहल गरेजस्तो लाग्दैन ।’ चार वर्षअघि गरिएको अध्ययनले स्तम्भमा विभिन्न हानिकारक तत्त्व आएर टाँसिएको देखाएको थियो । युनेस्कोका परामर्शदाता तथा स्टोन विशेषज्ञ कन्स्ट्यान्टिनो म्युचीले स्तम्भमै आईआर क्यामरा र अत्याधुनिक उपकरण जडान गरेर अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा स्तम्भमा सिमेन्टका कण, जिप्सम, किस्टल र स–साना ढुंगा टाँसिएको पाइएको थियो । स्तम्भको बाहिरी क्षेत्रमा सल्फर र धूवाँधूलोबाट निस्केको प्रदूषण, प्लास्टिकका टुक्रा पनि म्युचीले पाएका थिए । यी तत्त्वका कारण हुने रासायनिक प्रतिक्रियाले स्तम्भलाई खियाएका देखिएको हो । म्युचीले आफ्नो रिपोर्टमा तत्काल सतर्कता अपनाउन सुझाए पनि यसतर्फ ध्यान भने दिइएको छैन ।  

(कान्तिपुर दैनिक)