गैंडा मारेको आरोपमा ५ जनाविरुद्ध मुद्दा
News Desk
Aug-24 , 2021 तारिख 02:08 बेलुका

चितवन — ८ भाद्र २०७८

चितवन , एकसिंगे गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले पाँच जनाविरुद्ध सोमबार नवलपुर जिल्ला अदालतमा मुद्दा दायरको प्रक्रिया सुरु गरेको छ । उनीहरू दुई वर्षअघि निकुञ्जको पश्चिम क्षेत्रमा गैंडा मार्ने र खाग बेच्ने काममा संलग्न भएको निकुञ्जको अनुसन्धानले देखाएको छ ।निकुञ्जले जाजरकोटको शिवालय–२ डुंग्रा गाउँका २७ वर्षीय वीरबहादुर बस्नेत, मकवानपुरको वाग्मती–३ पाँचपाण्डवका नवीन पौडेल भनिने ३५ वर्षीय मेखबहादुर नेपाली र चितवनको खैरहनी–६ रिजाल टोलका २५ वर्षीय आरोस उप्रेतीविरुद्ध मुद्दा चलाउन लागेको हो ।

यसअघि गैंडा मुद्दामा पक्राउ परेर भरतपुर कारागारमा रहेका भरतपुर–२८ का रणबहादुर भनिने जितबहादुर कुमाल र तारा चेपाङलाई निकुञ्जले थप गैंडा मारेको अभियोग लगाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार २०७६ भदौ ३१ मा निकुञ्जको पश्चिम क्षेत्र मर्दीघोल नजिक मृत भेटिएको भाले गैंडाको खाग बेचेको आरोपमा उनीहरू समातिएका हुन् ।निकुञ्ज कार्यालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले यो घटनामा जोडिएका अन्य १० जना फरार रहेको जानकारी दिए ।

गत वर्ष निकुञ्जभित्र तस्करहरूले मारेका गैंडा भटाभट फेला परे । त्यो बेला निकुञ्जका अधिकारीहरू २०७३ चैत २६ यता चोरी सिकारीले गैडा नमारेको विवरण सुनाउने गर्थे । ‘दुई वर्षअघि मर्दीघोलमा गैंडाको हाडखोर भेटिएको थियो । त्यसलाई तस्करहरूले मारेका हुन् वा होइनन् यसै भन्न सक्ने अवस्था थिएन । अहिले मान्छेहरू समातिएर बयान गर्दा खागका लागि मारेको पक्का भयो,’ बरालले भने ।  

(कान्तिपुर दैनिक)