१३ दिनमा साढे ८ सय नागरिकता वितरण
News Desk
Aug-24 , 2021 तारिख 04:08 बेलुका

पाल्पा — रामपुर नगरपालिकास्थित इलाका प्रशासन कार्यालयले १३ दिनमा ८ सय ४६ वटा नागरिकता जारी गरेको छ । साउन २० देखि भदौ १ सम्म इलाका प्रशासनले ४ सय ६ वटा नयाँ र ४ सय ४० वटा प्रतिलिपि नागरिकता जारी गरेको हो । राष्ट्रिय परिचय पत्र बनाउने टोली रामपुरमा भएकाले नागरिकता लिनेको भीड बढेको इलाका प्रशासन कार्यालय रामपुरका निमित्त प्रमुख यज्ञश्वर पन्थीले बताए । राष्ट्रिय परिचयपत्र बनाउन साउन २० देखि सुरु भएको हो । त्यसअघि निस्दी गाउँपालिकामा परिचयपत्रको टोली आएको थियो । साउन २१ गते जिल्ला प्रशासन कार्यालय पाल्पाको टोली रामपुर पुगेर नियमित नागरिकता जारी गरेको हो ।

‘यसअघि सातामा दुई दिन मात्र सेवा दिइएको थियो,’ पन्थीले भने, ‘परिचयपत्रको टोली बसेकाले नागरिकता लिने र प्रतिलिपि बनाउनेको संख्या बढेको हो ।’ इलाका प्रशासन कार्यालय रामपुरमा लामो समयदेखि प्रमुख थिएनन् । साउन ७ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट सातामा दुई दिन नागरिकता दिने व्यवस्था गरेको थियो । साउनअघि तीन महिना प्रमुखविहीन थियो । परिचयपत्रको कामले गर्दा नागरिकता बनाउन दैनिक भीड लागेको छ । झण्डै ६ सयले नागरिकता बनाउन पालो पर्खेका छन् ।

कार्यालयले कम्तीमा ६० जनालाई दैनिक नागरिकता जारी गर्ने गरेको छ । कर्मचारी थोरै भएकाले धेरै जनाको बनाउन नसकिएको हो । शुक्रबार कागजपत्र बुझाएकालाई १७/१८ गते बोलाइएको छ । साउन ३१ गते र भदौ १ गते ९१/९१ वटा नागरिकता जारी गरेको छ । दरबन्दी अनुसार कर्मचारी नहुनु र भएका कर्मचारीले मात्र भीड व्यवस्थापन गर्न समस्या भएको पन्थीले बताए । प्रमुख नहुँदा लामो समयदेखि नागरिकता बनाउन नपाएकोमा अहिले सहज भएको स्थानीयले बताए ।   

(कान्तिपुर दैनिक)