News Desk
रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१ बराहटाकुरामा ८ वर्षपछि कभर्ड हल निर्माणले पूर्णता पाएको छ । कभर्डहल निर्माण २०७० सालदेखि सुरु भएको थियो । निर्माण सुरु भएको केही वर्षमा ७२ लाख १६ हजार रुपैयाँ खर्चिंदै कभर्डहलको आधारभूत काम गरिएको थियो ।त्यसबेला छाना र केही फिट मात्रै भित्तो उठाइएको थियो । त्यतिले मात्रै काम पूरा भएन । कभर्डहल भनिए पनि खुला हलका रूपमा लामो समय अलपत्र परेको यो योजनाले ८ वर्षपछि बल्ल पूर्णता पाएको हो । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको स्थानीय पूर्वाधार विशेष कार्यक्रमको २० लाख र मुसीकोट नगरपालिकाको ५ लाख गरी २५ लाख रुपैयाँको थप लागतमा कभर्डहलको निर्माण पूरा भएको हो । योसँगै कभर्डहलमा झण्डै १ करोड रुपैयाँ बजेट खर्च भएको छ ।
पछिल्लो पटक बराहटाकुरा कभर्डहल मर्मत उपभोक्ता समितिले बाँकी रहेको काम सम्पन्न गरेको हो ।कभर्डहलको अगाडिपट्टिको भागमा थप १० फिट अग्लो २५ मिटरको वाल थपिएको छ भने चारैतिरबाट जस्तापाताले बारिएको मर्मत उपभोक्ता समितिका अध्यक्ष अनिल बुढाले बताए । उनका अनुसार हलभित्र पीसीसी ढलान गरिएको छ भने सोलार प्रणाली जडान गरिएको छ । हलको बाहिरपट्टि पेटी र गेट बनाइएको छ ।
कभर्डहलको लम्बाइ २५ मिटर, चौडाइ २० मिटर र उचाइ २५ फिट छ । कभर्ड हल निर्माण पूरा भएपछि हलभित्र दुईवटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । निर्माणसँगै ब्याडमिन्टनसँगै मार्सलआर्टअन्तर्गतका खेलहरू सञ्चालन भइरहेको अध्यक्ष बुढाले बताए ।कर्भडहल निर्माणले पूर्णता पाएपछि खेलाडीहरू उत्साहित बनेका छन् । यसबाट खेलाडीलाई राहत मिलेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले बताए । कभर्ड हलको व्यवस्थित सञ्चालनका लागि जिल्लास्थित खेलाडी तथा खेलसँग सम्बन्धित सबैसित आवश्यक परामर्श भइरहेको उनले जानकारी दिए ।
(कान्तिपुर दैनिक)