News Desk
लुम्बिनी — ९ भाद्र २०७८
लुम्बिनी, नाम धनबहादुर भए पनि कतिपय मान्छे विपन्न हुन्छन्, नाम बलबहादुर भए पनि कमजोर हुन्छन् । त्यस्तै नियतिमा हुर्कंदै छन् प्रेम विश्वकर्मा, उनका लागि प्रेम एक अतृप्त तिर्खा जस्तै छ । जन्मजातै दाहिने खुट्टा नभएका उनी परिवारबाट पनि परित्यक्त जस्तै भए । उनी बाल्यकालमा बुटवलका सडक–गल्लीमा घिस्रँदै हिँड्थे । उनले मागेरै जीवन बचाए तर पक्की सडकमा घिस्रिँदा हातको कान्छी औंला भने गुमाए ।प्रकृति र परिवारबाट अपहेलित उनले आफूलाई पनि निकै महत्त्व दिए । त्यसैले १६ वर्ष पुग्दा नपुग्दै उनको जीवन कर्मशील भएको छ । बैसाखीको भरमा हिँडडुल गर्ने उनी अहिले बुटवल–११ तीनकुनेस्थित मुन्ना साइकल सेन्टरमा काम गर्छन् । सबलांगले झैं साइकलदेखि मोटरसाइकल र ई–रिक्सा मर्मत गर्छन् । आफ्नै कमाइको बलमा भविष्य सुन्दर हुने विश्वासले मुस्कुराउँछन् ।
उनले आठ वर्षकै उमेरमा काम सुरु गरेका हुन् । ‘मुन्ना साइकल सेन्टर’ का मुन्नाकुमारले उनलाई काम सिकाए, प्रेमलाई निपुण पनि बनाए । अहिले बैसाखीको भरमा साइकलदेखि मोटरसाइकल र ई–रिक्सा मर्मत गरेको, टायर खोलेर पन्चर टालेको देख्दा सेवाग्राही छक्क पर्छन् ।कतिपयले त उनले काम गरिरहेको टिकटक बनाउँछन् । कान्तिपुरसँग पनि उनले लजाएर भने, ‘टिकटकमा राख्ने भिडियो बनाउन लाग्नु भो कि क्या हो ?’ यातायात साधनका टायर निकालेर तिनको ट्युब निकाल्न उनी बैसाखीकै भर पर्छन् । बलियो फलामे बैसाखीले टायरको एक भागमा थिच्छन्, अर्को भागमा छिनो जस्तो औजार छिराउँछन् र बिस्तारै ट्युब निकाल्छन् । बैसाखीकै भरमा पसलमा यताउता गर्छन्, बिग्रेका सवारीको समस्या एकैछिनमा पत्ता लगाउँछन् र मर्मत सकिहाल्छन् ।
प्रेम एउटै खुट्टाले पनि साइकल चलाउन सक्छन् । बेलाबखत बनाउन राखिएका मोटरसाइकल पनि एकैछिन कुदाएर परीक्षण गर्छन् । त्यस्तो बेला उनी मन खिन्न पार्छन् । साइकल कुदाइरहेका, मोटरसाइकलमा हुइँकिरहेका, फटाफट कतै हिँडिरहेका मान्छे देख्दा उनलाई आफ्नो पनि दुवै खुट्टा भएको भए भन्ने भाव आउँछ । तर, आफूसँग जे छ, त्यो पनि जीवन खुसी बनाउन पर्याप्त छ भनेर चित्त बुझाउँछन् ।प्रेमसँग एउटा खुट्टा नभएका कारण साथीभाइले गिज्याएको र उपेक्षा गरेको तीतो विगत छ । ‘सबैले जिस्क्याउने गरेपछि मलाई स्कुल जान कहिल्यै मन लागेन,’ उनी सम्झन्छन् । बाबु सधैं रक्सी पिएर मात्तिएर घर आउँथे । विपन्नताले होला, उनले आमाको पनि न्यानो माया पाएनन् । उनले भने, ‘सबैले हेला गरे, त्यसैले सडकमा माग्दै हिँड्ने भएँ ।’ मदिराका अम्मली बाबु जन्डिस रोगले तीन वर्षअघि बिते । दुईमध्ये कान्छी दिदी बिहे गरेर भारत गइन् । आपत्विपत्मा उनी नजिकै बस्ने जेठी दिदीकहाँ पुग्छन् । सामान्यतया दिनभर ‘वर्कसप’ मा काम गरेपछि बेलुकी खाना आफैं बनाउँछन् ।
मीठो खाऊँ, राम्रो लगाऊँ, नयाँ–नयाँ ठाउँ जाऊँ लाग्थ्यो । तर यी रहर मनमै कुँजिए । अरूजस्तै जिज्ञासु र चञ्चल थिए । तर त्यही जिज्ञासा र चञ्चलताले उनलाई टायर खोल्ने, हावा भर्ने, पन्चर टाल्ने र फिट गर्ने काममा पनि उत्सुक बनायो । मुन्नाले सुनाए, ‘निकै मिहिनेती छ, मन लगाएर काम गर्छ । नजानेको काम पनि सोधेर सिकिहाल्छ ।’मासिक १५ हजार रुपैयाँ कमाउने प्रेमको आफ्नै सपना छ । पैसा जोगाएर एक दिन आफैंले पसल खोल्ने योजना छ । मुसुक्क हाँस्दै भन्छन्, ‘पढेलेखेकी केटी बिहे गर्न पाए म पसल खोल्थें, उसलाई व्यापारको हिसाबकिताब गर्न लगाउँथें, हेरौं कस्तो हुन्छ ?’
( कान्तिपुर दैनिक )