जफत गरिएको २० करोड डलर फिफालाई
News Desk
Aug-26 , 2021 तारिख 02:20 बेलुका

पेरिस — १० भाद्र २०७८

पेरिस , अमेरिकी न्याय विभाग ‘भ्रष्ट फुटबल प्रशासक’ बाट जफत गरिएको २० करोड १० लाख डलर (१७ करोड १० लाख युरो) विश्व फुटबलको सर्वोच्च संस्था फिफालाई दिलाउन सहमत भएको छ । धेरै रकम ‘फिफा गेट’ प्रकरणमा अमेरिकामा भएको कानुनी कारबाहीबाट दिइने भएको छ ।मे २०१५ मा भएको उक्त प्रकरणमा नाटकीय रूपमा विश्व फुटबलका सातजना कार्यकारीहरूलाई जुरिचबाट गिरफ्तार गरिएको थियो । जसका कारण केही महिनापछि सन् १९९८ देखि फिफाका अध्यक्ष रहेका सेप ब्लाटर बाहिरिन बाध्य भएका थिए ।‘वर्षौंको भ्रष्टाचार प्रकरणमा संलग्न भएकाहरू (जसलाई अभियोग लगाइएको थियो) को बैंक खाता रोक्का गरिएको रकम हो यो,’ फिफाले मंगलबार आफ्नो बेवसाइटमा विज्ञप्तिमार्फत् भनेको छ ।

यस रकमलाई ‘विश्व फुटबलमा छुटेको कोष’ को रूपमा स्थापित गरिनेछ, जसको प्रयोग फिफा फाउन्डेसनले विश्वभर सामुदायिक रूपमा सकारात्मक प्रभाव पार्नका लागि फुटबलसम्बन्धी कार्यक्रम गर्नेछ ।फिफाका प्रमुखमा ब्लाटरलाई विस्थापित गरेका जियानी इन्फान्टिनोले उक्त सहमतिको स्वागत गरेका छन् । उनले भने, ‘गैरकानुनी ढंगले फुटबलबाहिर पुर्‍याइएको त्यो रकम फुटबलमै फर्केको हेर्न पाएकोमा खुसी लागेको छ । पूर्णतः फुटबलकै लागि उपयोग गर्नेमा प्राथमिकता दिइनेछ । फिफा फाउन्डेसनका लागि यो कोष महत्त्वपूर्ण हुनेछ । यसले विश्व फुटबलमा धेरै मानिसमा सकारात्मक प्रभाव पार्नसक्छ । विशेषतः युवा र सामुदायिक कार्यक्रममार्फत् ।’

उक्त कारबाही कोपा अमेरिकालगायत प्रतियोगिताको टेलिभिजन प्रशारण अधिकार दिनेक्रममा अमेरिका केन्द्रित घुस र दक्षिण तथा मध्यअमेरिकाका फुटबल अधिकारीहरूको संगठित ठगीको जालोमाथि गरिएको थियो । त्यसमा दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था ‘कोन्मेबोल’ का पूर्वअध्यक्ष जुआन एन्जेल नापोट (पाराग्वे) लाई ९ वर्ष र ब्राजिलका जोसे मारिया मारिन (ब्राजिलियन फुटबल महासंघका पूर्वप्रमुख) लाई चार वर्षको जेल सजाय तोकिएको छ । दक्षिण अमेरिकी फुटबलमा पनि केही रकम हुनेछ । कोन्मेबोलले पुनर्स्थापना कोषको रूपमा ७ करोड १० लाख डलर पाउनेछ । अमेरिकी न्याय प्रणालीले विश्वकप २०२२ कतारमा आयोजना गर्ने निर्णय गर्दा शंकास्पद रूपमा मत खरिद गरेको आरोपमा पनि अनुसन्धान गरिरहेको छ ।   

( कान्तिपुर दैनिक )