News Desk
काभ्रे — १० भाद्र २०७८
काभ्रे, पुर्पक्षका लागि कारागार चलान भएका एक थुनुवा जिल्ला अदालत परिसरबाटै फरार भएका छन् । चोरी/डाँका मुद्दामा कारागार चलान भएका खानीखोला–६ का सुनिल वाइबा भागेको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।प्रहरीका अनुसार बकपत्रका लागि लगिएका उनले हत्कडी कस्सिएको भन्दै खुकुलो पार्न अनुरोध गरेका थिए । त्यसपछि छक्याएर भागेको प्रहरीले जनाएको छ ।
सोही मुद्दामा बकपत्रका लागि लगिएका अर्का कैदी भने नियन्त्रणमा नै छन् ।‘उनको खोजी भइरहेको छ,’ एसपी खत्रीले भने, ‘मातहतका सबै युनिट र सम्बद्ध सबैलाई पनि खबर गरेका छौं ।’ पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको थियो ।
( कान्तिपुर दैनिक )